काठमाडौं ,असोज १८
नवरात्रको दोस्रो दिन आज शुक्रबार
नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ ।
नवरात्रभरी प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको
आराधना गर्ने परम्परा छ । तपस्यामा लीन
भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न
भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको
पुराणमा उल्लेख छ। कमलको आसनमा
बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। यिनी
योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको
आराधना गरिन्छ।
नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ।
नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने
परम्परा छ।
१७ असोज २०८१, शुक्रबार ०८:५७ मा प्रकाशित