चितवनलाई १७६ रनको लक्ष्य

Jhalkonepal

काठमाण्डौं, पौष ३

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० को इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।  टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो।

एनपिएलमा कर्णालीको यो उच्च योगफल हो। यसअघि कर्णालीले काठमाडौं गुर्खाजविरूद्ध १४९ रन जोडेको थियो। तर यो स्कोर कर्णालीले डिफेन्ड गर्न सकेको थिएन।

कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालाले डेब्यू खेलमै अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दा कर्णालीको योगफल बलियो भयो।


भारतका कोल्सावालाले कर्णालीका लागि पहिलो खेल खेलेका हुन्। आजको खेलमा उनले हङकङका बाबर हायतको ठाँउमा टोलीमा स्थान बनाएका थिए।


कोल्सावालाले ५३ रन जोड्ने क्रममा ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ५९ रनको साझेदारी गरे।

बोसिस्टोले ५२ रन जोडे। १९औं ओभरमा सोहेल तन्विरबाट बोल्ड हुनुअघि उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बोसिस्टोले पाँचौ विकेटका लागि चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरे। 


वाल्टनले नटआउट ४६ रन जोड्ने क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

बोसिस्टो अस्ट्रेलियाको यू-१९ टोलीका पूर्वकप्तान हुन्। सन् २०१२ को आइसिसी यू-१९ विश्वकपमा उनले अस्ट्रेलियन टोलीको कप्तानी गरेका छन्। त्यतिबेला उनले समूह चरणमा नेपालविरूद्ध पनि खेलेका थिए। जारी लिगमा अलराउन्ड प्रदर्शन गरिरहेका बोसिस्टोले पोखरा एभेन्जर्सविरूद्धको एकै खेलमा ६ विकेट लिएका थिए।

कोल्सावाला तीन वर्षपछि नेपालको फ्रेञ्चाइज लिग खेल्न फर्किएका हुन्। उनले पछिल्लो पटक सन् २०२१ मा एभरेस्ट प्रिमियर लिग खेलेका थिए। ललितपुर प्याट्रिओट्सका लागि खेलेका उनले ४२ रन जोडेका थिए। त्यसपछि उनले ठूला प्रतियोगिता खेलेका थिएनन्।

प्रतिक्रिया