काठमाडौँ , माघ ११
आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने
अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले
घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना
सुरु गर्दै छन् ।
वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी
नेपालमा बसोवास गर्नेले नै यो पर्व मनाउँछन् । भारतलगायत अन्य देशका हिन्दू
धर्मावलम्बीले कमैमात्र यो विधिबाट पूजा आराधना गर्छन् । यसैले यो नेपालकै मौलिक
परम्पराको रूपमा रहेको छ । नेपालमा पनि धेरैजसो महिलाले नै यो व्रत गर्छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी
व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी
शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा
महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ
माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । एक महिनासम्म यो
विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि
नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी बर्तालु आफैँले फलाहार गरी
रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा बर्तालुको
मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू
बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म
उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको
मेला शुरु गरिँदै छ ।
“माघ महिनामा यहाँ आई स्नान गरेर
माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ
लाखौँ भक्तजन आउने गर्छन्”-इतिहासकार श्रेष्ठले भने ।
यस वर्षको माधनारायण मेलाका लागि
साँखुस्थित शालिनदीमा आजदेखि लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न
भागबाट भक्तजन आउने गरेका छन् ।