काठमाडौं, पुस २१
खुम्वु क्षेत्रमा व्यवसायीले अत्यावश्यक
हेलिकप्टर उडान पनि रोकेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु
पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक
लगाएको विरोधमा व्यवसायीले अत्यावश्यक उडान समेत रोकेका हुन् ।
वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष
प्रतापजंग पाण्डेका अनुसार आइतबारदेखि लागु हुने गरी त्यस क्षेत्रमा हुने सबै उडान
रोक्ने निर्णय गरिएको छ ।
त्यस्तै, त्यहाँ हवाईजहाजबाट नियमित
उडान गरिरहेका कम्पनीले समेत क्रमशः आफ्ना उडान स्थगन गर्ने निर्णय भएको संघले जनाएको
छ ।
निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक
उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीबाट रोक लगाउने निर्णय
गरेका थिए ।
उक्त निर्णय फिर्ता लिन वायुसेवा कम्पनी, नागरिक उड्डयन प्राधिकरण सहितका निकायले
आग्रह गरिरहेका छन् ।
पटक–पटकको वार्ता निर्क्योलमा पुग्न
नसकेको, हेलिप्याडहरूमा झन्डा गाडेर अवरोध
गरिएको र आपतकालीन अवतरण गर्ने वातावरण समेत नभएको भन्दै वायुसेवा कम्पनीहरूले
त्यस क्षेत्रमा अब अत्यावश्यक सहित सबै उडान रोक्ने निर्णय गरेका हुन् ।
२० पुस २०८१, आईतबार ०६:४० मा प्रकाशित