काठमाण्डौं, जेठ ३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ घटाएको छ ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७० र तेस्रो वर्गका लागि १७१ रुपैयाँ कायम भएको छ ।
डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५१ रुपैयाँ ५० पैसा, १५३ रुपैयाँ र १५४ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आईओसीले बुधबार पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।