धनगढी, साउन २५
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश
सभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ ।
प्रदेश
सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि
प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।
यसअघि सरकारको सिफारिसमा प्रदेश
प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । तर, विशेष अधिवेशन अन्त्य गरेपछि
सरकारले कर संकलन सम्बन्धी अध्यादेश जारी गरेको थियो ।
आज पुन
सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी
दिएको छ । आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल शाह नियुक्त भएका
थिए । उनले विश्वासको मत लिन बाँकी रहेको छ ।
सरकारले अध्यादेश जारी गरी कर
सङ्कलनको वातावरण बनाए पनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन ।
मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि
बढाउने तयारी गरेका छन् ।