एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा नेपालले दियो विशाल लक्ष्य, हाल सम्मकै उच्च स्कोर

Jhalkonepal

 काठमाडौं , असार १५

 मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत नेपालका ओपनिङ ब्याटर प्रसिद्ध जैसीले शतक बनाएपछि आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध  अहिले सम्मकै विशाल योगफल खडा गरेको छ । 

क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाए सँगै इन्डोनेसियाले ४२१ रनको विशाल लक्ष्य पाएको हो ।

यो क्रिकेट इतिहासमा नेपालको उमेर समूहदेखि सिनियर टोलीले ५० ओभरको कुनै प्रतियोगितामा बनाएको सर्वाधिक योगफल हो । साथै जारी प्रतियोगितामा पनि यो सबैभन्दा उच्च योगफल हो ।

जैसीले ११४ बलमा १३२ रनको शानदार शतकीय पारी खेले । उनले १५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए । अर्का ओपनर परिमार्जन यादवले २८ बलमा ७१ रनको विस्फोटक पारी खेले जहाँ उनले ४ चौका र ८ छक्का प्रहार गरे । जोय थापाले ४१ बलमा ५७ रन बनाए ।

पहिलो विकेटका लागि जैसी र यादवले मिलेर १३० रनको साझेदारी गरेका थिए । त्यसपछि दोस्रो विकेट १५१ रनमा खसेको थियो भने तेस्रो विकेटका लागि जैसी र रौनकले मिलेर १४८ रनको साझेदारी गरे ।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १-१ विकेट लिए ।

अहिलेसम्म नेपालले खेलेका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा पहिलो खेलमा सिंगापुरलाई ५ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो ।

समूह ए मा नेपालभन्दा २ खेल बढी खेलेको सिंगापुर ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर शीर्षस्थानमा छ भने २ खेलमा ४ अंक भएको नेपाल दोस्रोमा छ ।

नेपालले यसपछि भुटानसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया