नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि राष्ट्रपतिकाे आव्हान

Jhalkonepal

काठमाडौं, कात्तिक २०

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्नुभएको छ । 

एसिया प्रशान्त क्षेत्रीय उद्योग बाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आग्रह गर्नु भएकाे हाे  । 

“ नेपालमा लगानीका अवसर बढदै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्दछु”, उहाँले भन्नुभयो । 

उहाँले आर्थिक विकासको तिब्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तराष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गर्नुभयो । 

 नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो । 


राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गर्नुभयो । 


राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । 

“आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्”, उहाँले भन्नुभयो । 

उहाँले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा  बलियो आधार पनि हो भन्नुभयो । “तपाईंहरुले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । 


राष्ट्रपति पौडेलले दिगो उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला हुन् भन्नुभयो । 


उहाँले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘यसले आर्थिक वृद्धिलाई  मात्र हैन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न उर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भन्नुभयो, “व्यवसाय क्षेत्रका संगठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् । यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।”

नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उहाँले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउँछ भन्नुभयो । 

“दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० लगायतका क्षेत्रीय व्यापार सम्झौताहरूमा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति भएको उहाँको धारणा थियो । उहाँले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्दछ भन्नुभयो । 


उहाँले ३७ औं क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुनेछ भन्नुभयो ।  यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक छन भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया