काठमाडौ, वैशाख २४
गुजरात टाइटान्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आठौँ जित निकालेको छ । आठौँ जित दर्ता गर्नेक्रममा गुजरातले मंगलबार राति मुम्बई इण्डियन्सलाई तीन विकेटले हरायो ।
आफ्नो ११औँ खेलमा मुम्बईले दिएको १५६ रनको लक्ष्य गुजरातले १९ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । उसका लागि कप्तान शुभमन गिलले ४३, जोस बटलरले ३०, शेरफर्न रदरफर्डले २८, जेराल्ड कोएत्जीले १२ र राहुल तेवटियाले अविजित ११ रन जोडे ।
मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्विनी कुमारले दुई/दुई तथा दीपक चाहरले एक विकेट लिए । त्यसअघि वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रन बनायो ।
उसका लागि विल ज्याक्सले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५३ रनको पारी खेलेका हुन् । यस्तै, सूर्यकुमार यादवले ३५ र कार्बिन बोसले २७ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । गुजरातका लागि साइ किशोरले दुई तथा मोहम्मद सिराज, अर्शद खान, राशिद खान, जेराल्ड कोएत्जी र प्रसिद्ध कृष्णाले एक/एक विकेट लिए ।
यो जितपछि गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले अहिलेसम्म ११ म्याच खेल्दासम्म आठमा जित र तीन खेलमा हार बेहोरेको छ । गुजरातसँगको हारले मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिन चुक्यो ।
योसँगै उसको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । मुम्बईले पछिल्लो ६ खेलमा लगातार जित निकालेको थियो । तालिकाको चौथो स्थानमा रहेको मुम्बईले १२ म्याच खेल्दासम्म सातमा जित र पाँच खेलमा हार बेहोरेको छ ।