काठमाण्डौ, साउन २२
मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि देशका धेरै
ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात्
’रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट
जारी गरेको हो ।
विभागले
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ
तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई
खतराको सूचीमा राखेको छ ।
यस्तै
लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची
तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा
पनि विभागले रेड अलर्ट जारी गरेको छ । यस्तै मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, बाजुरा र बझाङबाहेकका
अरू सबै जिल्लामा विभागले मध्यम जोखिम हुने भन्दै चेतावनी जारी गरेको छ ।
आज
र भोलि बाढी, पहिरो
र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ । रातिको समयमा
धेरै पानी पर्ने भएकोले चनाखो रहन र जोखिमयुक्त ठाउँमा नबस्न विभागको आग्रह छ ।
यस्तै
राजमार्ग र हवाई यातायात पनि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी अपनाउन विभागले
सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।