काठमाण्डौं, बैशाख १४
नेपाल राष्ट्रिय क्रिकेट टोलीका लागि नयाँ मुख्य प्रशिक्षकको रूपमा अष्ट्रेलियन नागरिक स्टुअर्ट ला नियुक्त भएका छन्। ५४ वर्षीय स्टुअर्ट ला अष्ट्रेलियाको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर हुन्।
उनले सन् १९९० को दशकमा अष्ट्रेलियाका लागि टेस्ट र एकदिवसीय (वनडे) क्रिकेट खेलेका थिए। टेस्ट क्रिकेटमा उनले अष्ट्रेलियाका लागि १ मात्र खेल खेलेका थिए भने, एकदिवसीयमा ५४ खेल खेल्दै १,२०० भन्दा बढी रन बनाएका थिए।
ला ठूलो रन बनाउने मध्यक्रमका ब्याट्सम्यानका रूपमा चिनिन्थे, जसले दबाबमा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्षमता देखाएका थिए।
खेलाडी जीवनपछि स्टुअर्ट लाले प्रशिक्षकका रूपमा पनि उल्लेखनीय यात्रा तय गरे। उनले श्रीलंका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, वेस्ट इन्डिज टोलीलाई २०१० मा टि-२० विश्वकप विजेता बनाउने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए। साथै, उनले बंगलादेश क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सेवा गरेका थिए र बंगलादेश क्रिकेटको विकासमा उल्लेखनीय योगदान दिएका थिए।
त्यसैगरी, इंग्ल्याण्डका विभिन्न काउन्टी टोलीहरूमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका ला युवा खेलाडीहरूलाई निखार्न खप्पिस मानिन्छन्। लाले मुख्य रूपमा रणनीतिक सोच, ब्याटिङ सुधार र टोली व्यवस्थापनमा बलियो प्रभाव पार्ने विश्वास गरिएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ,हामीले नेपालको क्रिकेटलाई नयाँ उचाइमा लैजान अन्तर्राष्ट्रिय अनुभव र क्षमतायुक्त प्रशिक्षकको आवश्यकता थियो। स्टुअर्ट लाको आगमनसँगै हामी आगामी विश्वकप छनोट लगायतका महत्त्वपूर्ण प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको बताएका छन ।
नेपालसँगको सहकार्यप्रति उत्साहित हुँदै स्टुअर्ट लाले भनेका छन, नेपालसँग अपार सम्भावना छ। म नेपाली क्रिकेटलाई नयाँ युगमा प्रवेश गराउन उत्साहित छु र खेलाडीहरूसँग मिलेर उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको छु। नेपालमा रहेको प्रतिभाशाली युवाहरूसँग काम गर्न पाउँदा म गर्व महसुस गरिरहेको छु।
उनको पहिलो ठूलो चुनौती आगामी टी-२० विश्वकपको तयारी हुनेछ।