काठमाडौं, असोज २५
बडादशैंको
आठौं दिन आज महाकाली,
महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरि महाअष्टमी
पर्व भव्यरूपमा मनाइदैछ ।
आश्विन
शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा
दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
महाअष्टमीको दिन
दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न
वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको
दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत
राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।
दुर्गा सप्तशती,
श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष
प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले
ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन
गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो
कुल परम्पराअनुसार काँक्रो,
घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका
तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।