भक्तपुर, असार ८
आबाल ब्रह्मचारी षडानन्द
प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण
गरिएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा
संस्कृतिविद् प्राज्ञ डा जगमान गुरुङ, समीक्षक र लेखकहरुले संयुक्तरुपमा
उक्त पुस्तकको लोकार्पण गर्नुभयो । कार्यक्रममा प्राज्ञ डा. गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र
सङ्घर्षलाई उजागर गरेको चर्चा गर्नुभयो । विभिन्न लेखकले गौतमप्रति गरेको
श्रद्धाभावले उहाँको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक
व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उहाँले बताउनुभयो ।
तत्कालीन बेलाको सङ्घर्ष, संस्कृतिको संरक्षण
र संस्कारलाई आत्मसात गर्दै बहुआयामिक व्यक्तित्वको रुपमा पहिचान बनाउनुभएका
गौतमको जीवनका अनेकौँ आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा गुरुङले बताउनुभयो
। उहाँले पुस्तकले संस्कृति, संस्कारका साथै सङ्घर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्रेरणा
प्रदान गर्ने विश्वास व्यक्त गर्नभयो ।
पुस्तकका समीक्षक वरिष्ठ पत्रकार
पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिङ्गो भोजपुरलाई बुझ्न सकिने बताउनुभयो
। उहाँले त्यसबेलाको सङ्घर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको
अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो । समीक्षक प्रा. डा
नन्दीसकुमार अधिकारीले वेदविद्धता एवं शिक्षक भीमप्रसाद गौतमले समाज विकासदेखि
रुपान्तरणसम्म निर्वाह गर्नुभएको भूमिकालाई पुस्तकले ताजा गराइदिएको बताउनुभयो ।
उहाँले आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले अहिलसम्म विभिन्न १२ वटा पुस्तक
प्रकाशित गरेको उल्लेख गर्दै प्रतिष्ठानले छात्रवृत्तिका लागि विभिन्न कोष खडा
गरेर सामाजिक कार्य गरिरहेको जानकारी दिनुभयो । प्रतिष्ठानका
अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतोनाथ गौतम र प्रतिष्ठानका सचिव
ब्रदीप्रसाद भट्टराईले पुस्तक जीवन उपयोगी हुनुका साथै यसले परिवर्तनको सन्देश
प्रवाह गरेको बताउनुभयो । पुस्तकमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी
सम्पादक शरच्चन्द्र भण्डारीलगायत विभिन्न व्यक्तित्वले लेख्नुभएको लेख समेटिएकाले
पुस्तकले त्यसबेला र अहिलेको समयको परिवेशलाई प्रष्ट्याएको उहाँहरुको भनाइ छ ।