बलात्कार मुद्धामा संदिप लामिछाने दोषी ठहर

Jhalkonepal


काठमाण्डौ, पौष १३

जिल्ला अदालत काठमाण्डौें नेपाली क्रिकेट टोलीका पुर्व कप्तान संदिप लामिछानेलाई बलात्कार मुद्धामा दोषि ठहर गरेको छ । मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो । 

न्यायधिश शिशिर ढकालको एकल इजलासले उनलाई दोषि ठहर गरेको सर्वोच्च अदालतका चन्द्र प्रशाद अधिकारीले जानकारी दिए । इजलासले पिडित गौशाला २६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाउदै, बलात्कार गरेको ठहर गरेको छ । गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

त्यस्तै पिडित नाबालिग भएको भनेर गरेको दावीलाई पनि अस्विकार गरेको छ । अदालतले उक्त मुद्धामा लामिछानेलाई दोषि ठहर गरे पनि सजाय भने निर्धारणको लागि पौष २५ गतेको पेशी तोकेको छ ।

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।  न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । 

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



प्रतिक्रिया