दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते

Jhalkonepal

दार्चुला-  दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। नौगाड गाउँपालिका–३ को होपरीबाट होपरीगाडतर्फ गइरहेको ग ३ च ३३५१ नम्बरको रातो जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा चार जना गम्भीर र छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

गम्भीर घाइते हुनेमा २५ वर्षीया गर्भवती पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १७ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन्।

अन्य घाइतेहरूमा रम्भा महता, उमेशसिंह ठगुन्ना, राम महत, श्याम महता, कान्छी महत, गम्बा महता र लक्ष्मी कार्की छन्।

जिप चालक लाकेन्द्रसिंह ठगुन्नाले चलाएको गाडी चिप्लो बाटोमा ब्रेक नलागेर दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

गाडीमा ११ जना सवार थिए। गम्भीर घाइतेहरूलाई गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया