काठमाण्डौं, कार्तिक २८
नेपालमा टिकटक बन्द भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको हिजोको निर्णय अनुसार इन्टरनेट सेवाप्रदायकहरुलाई हिजो नै सरकारले पत्राचार गरिसकेको थियो । नेपाल सरकारको निर्णय अनुसार नेपाल भरिका इन्टरनेट सेवाप्रदायकहरुले मंगलबार दिउसो १ः१५ बजे देखि टिकटक प्रशारणमा प्रतिवन्द लगाएका छन ।
सांस्कृतिक विचलन र छाडापन बढदै गएको तथा टिकटकले समाजमा नकारात्मक कुरालाई प्रवर्धन गरेको भन्दै सरकारले टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । सरकारको निर्णय प्रति कतिपय सत्ताधारी दलकै नेताहरुले पनि विरोध जनाएका छन । कांग्रेसका महामन्त्री गगन थापा, नेता शेखर कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिंगदेन, पुर्व अध्यक्ष कमल थापा लगायतका नेताहरुले सरकारले प्रतिवन्ध लगाउनुको साटो नियमन गर्नु पर्ने धारणा राखेका छन ।
सरकारले लगाएको प्रतिवन्धका बारेमा सामाजिक संजालमा मानिसहरु विभाजित देखिएका छन । कतिपयले यसलाई सरकारको सही कदमको रुपमा अर्थाएका छन भने कतिपले अभिव्यक्ति स्वतन्त्रताको हनन्को रुपमा ब्याख्या गरेका छन । आज टिकटकमा प्रतिवन्ध लगाउने सरकारले भोली अरु माध्यमहरुमा पनि प्रतिवन्ध लगाई निरंकुश हुनसक्ने शंकाहरु ब्यक्त गरिएका छन । केही संचारमाध्यमहरुले गरेको जनमत संकलनमा भने अधिकांशले सरकारको कदमलाई सही ठहर्याएका छन ।
चिनिया कम्पनीले प्रवर्धन गरिरहेको टिकटक सुरक्षा लगायतका अन्य विविध कारण देखाउदै नेपाल लगायत विश्वका २७ वटा देशले टिकटकमा प्रतिवन्ध लगाएका छन । यदपी यस्तो प्रतिवन्ध देशै पिच्छे फरक छन । कतिपय देशमा सरकारी कर्मचारीले प्रयोग गर्न नपाउने गरि प्रतिवन्ध लगाइएको छ भने कतिपयले पुर्ण रुपमा यसलाई प्रतिवन्ध लगाएका छन । भारतले २०२० मा लद्दाख क्षेत्रमा चिनसंग विवाद वढे पछि टिकटक लगायतका चिनिया सामग्रीमा प्रतिवन्ध लगाएको छ ।