काठमाण्डाै , माघ ७
स्नेहिथ रेड्डीले शतक प्रहार गरेपछि आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्यान्डबाट बलियो लक्ष्य पाएको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन जोड्यो । रेड्डीले १ सय ४१ रनको विशाल इनिङ खेलेपछि न्युजिल्यान्डले बलियो योगफल खडा गरेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले नटआउट १ सय ४७ रन जोडे । १ सय २५ बलको सामना गर्दै उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।
पहिलो विकेटका लागि राम्रो सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि लगातार तीन विकेट गुमाउँदा खेलमा नेपाल फर्केको थियो । चौथो विकेटका लागि कप्तान ओस्कार ज्याक्सन र रेड्डीले १ सय ५७ रनको साझेदारी गरेपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।
पहिलो पावरप्लेमा ५३-० को बलियो सुरुवात गरेको न्युजिल्यान्डलाई स्पिनरत्रय सुभाष भण्डारी, तिलकराज भण्डारी र दीपेश कँडेलले विकेट लिँदै दबाबमा राखेका थिए । सुभाषले ११ औं ओभरको पहिलो बलमा लुक वाटसनलाई बोल्ड गर्दै सुरुवाती सफलता दिलाएका थिए । वाटसनले २५ बलमा २ चौकासहित १४ रन जोडे ।
१४ औं ओभरमा अर्का ओपनर टम जोन्स तिलकबाट बोल्ड भए । जोन्सले ४५ बलम ५ चौकासहित ३३ रनको योगदान दिए । लगत्तै अर्को ओभरमा दीपेशले ओलिभर टेवाटियालाई कट बिहाइन्ड गराए । तेस्रो बल खेलेका टेवाटियाले खाता खोल्न सकेनन् ।