सीमा बस्नेत, असोज २५
केही समय पहिले मेरो नजिककी एक जना बैनीले एउटा लेख मलाई शेयर गरिन । सुत्केरी हुन अस्पताल जाँदा नर्सहरूको व्यवहारले गर्दा उनले पाएको दुःख लेख मार्फत सार्वजनिक गरेकी रहिछन् । सन्तान जन्मिने क्षणमा महिलाले कस्तो सम्म पिडा सहनुपर्छ त्यो मैले पनि भोगेकी हुनाले शुरुमा लाग्यो यस्तै पिडा भोगेको कुरा त होला नि तर त्यतिमा मात्रै सीमित रहेनछ ।
उनको २८ घन्टाको प्रसव पिडा अनि लेबर रुममा ती नर्सको व्यवहार’ शीर्षकमा छापिएको त्यो पिडादायी अनुभूति पढे......बार बार पढे सायद त्यो कथाको व्यथा आफूले पनि भोगेकोले होला धेरै पटक दोहोर्याएर पढे । कोशी प्रदेशको सबैभन्दा ठुलो अस्पताल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा मै नर्सहरूको दुर्ब्यबहार भोगेकी ती बैनीको अनुभूति उनको मात्रै अनुभव थिएन् । प्राय सरकारी अस्पतालमा स्वास्थ्यकर्मिहरुबाट महिलाले सुत्केरी हुन जाँदा यी र यस्तै व्यवहार भोग्ने गरेको धेरैको मुखबाट सुनेकी मात्रै होइन स्वयमले ८ वर्ष अघि भोगेकी पनि थिए । उनको अनुभूतिमा प्रकाशित लेखमा आएका थुप्रै प्रतिक्रियाहरुलाइ पनि एक एक गरी मैले पढे ।
अस्पतालमा हण्डर र दुर्ब्यबहार भोगेका धेरैले बैनीको समर्थनमा प्रतिक्रिया लेखेका थिए भने स्वास्थ्य क्षेत्रमा काम गर्ने कतिले नर्सहरूको बाध्यता, उनीहरूले उचित सेवा सुबिधा नपाउँदाको निराशा , थोरै जनशक्तिले धेरैलाई सेवा दिँदा हुने फ्रस्टेसन व्यवहारमा झल्केको पनि भनेका थिए । तर धेरैको भोगाइ समेटेर उनले आफ्नो प्रसव पिडा र अस्पतालमा भोगेको हण्डरलाइ कस्तो हिम्मतका साथ लेख्न सकेकी ! उनले सक्दा मैले किन नसकौला भित्र भित्रै ऊर्जा मिल्यो।
मन भित्रको पिडा बाहिर नआउन्जेल उकुसमुकुस हुन्छ, श्वास फेर्न नै गाह्रो, कहिलेकाहीँ त श्वास रोकिए जस्तो हुन्छ तर जब यी पिडा अनुभूति कहिले शब्दमा कहिले आशुमा त कहिले आवाजमा पोख्न पाईन्छनि आहा............युद्ध जितेर फर्केको सिपाही झैँ आनन्दित,आफू भन्दा गर्हौ भारी चौतारीमा बिसाउन पाउँदा भएको भरियाको मन झैँ हल्का र बिझेको काँडो निकाले झैँ राहत मिल्छ, पिडा घटेर जान्छ, हटेर जान्छ ।
ती बैनीको लेख र त्यसमा आएका प्रतिक्रिया पढिरहँदा मन ढक्क फुल्यो,आङ जिरिङ्ग भयो आँखावाट आशु कति बेला हाम फाले पत्तो सम्म पाइन । मलाई अचम्म लाग्छ की, एउटी महिला आमा बनिरहँदा एउटा पुरुष पनि त पिता बन्छ । थुप्रै साईनो सम्बन्धमा पदोन्नति हुन्छ तर त्यो खुशी दिने महिलालाई पिडा सहन सान्त्वना र खुशी दिएकोमा धन्यवाद र शुभकामना दिन समेत लोभ गरिन्छ । रातभर जागा बसेर बच्चा स्याहार्ने आमा तर सन्तान पिताको कहलिन्छ । अझ त्यति मात्र कहाँ होर......त्यही सन्तान जन्माउँदा बढेको शरीर,अनुहारमा आएको पोतो, झरेको कपाल र कम्फर्टको लागि लगाएको लुगा जुत्ताले समेत body shaming को सिकार भइन्छ । पर पुग्नै पर्दैन...आफ्नै बाट...नजिकैका बाट......
उही अस्पताल घाेपा क्याम्प , उही प्रसव पिडा अनि नर्सहरूको उही बोली र त्यस्तै व्यवहार जुन मैले पनि भोगे त्यहाँ। मैले उस्तै ब्यवहार सहेको आठ बर्ष पछि पनि त्यो अस्पतालमा त्यस्तै ब्यवहार म जस्तै अर्की बहिनीले भोग्नु परेको सुन्दा म आफै अस्पताल भर्ना भए झै महसुस भयो । अझै उस्तै ब्यवहार यतिका बर्षमा त त्यहा आउने नर्सहरु पनि फेरीएहोला तर अघिल्ला नर्सहरुले जिम्मेवारी हस्तान्तरण सँगै आफ्ना त्यही छुद्र ब्यवहार पनि उपहार दिएर गएछन् क्यारे ! मलाइ त "अलि अलि भुँडी दुख्दैमा हस्पिटल आई हाल्नु पर्छ ?" "बेड सबै भरिसकेको छ यसैमा दुइ दुइ जना मिलेर बस्नु ।" "कस्तो सबैको यै बेला ब्याउने टाइम मिलेको के " ( खिसी हाँसो मिसाउँदै ) रस निचोरेको उखुको झुत्रो जस्तो रूखो र निर्दयी भाषामा बोलेका नर्सहरूको सम्झना आयो । त्यो बेला म सुनिमात्र रहे मैले पनि सहिरहे किनकि मैले पनि त्यही सुनेको थिए जुन अरुले । नर्सहरूलाई केही भन्न हुँदैन रिसाउन हुँदैन कराउन हुँदैन दुखो भनेर अईयााा सम्म भन्न हुँदैन,गाली गर्छन् रे राम्ररी हेर्दैननरे र कसैलाई त पिट्छन सम्म रे भनेर......
बिहे भएको ६ वर्ष पछि आमा बन्दै थिए जस्तोसुकै दुख खेपेर भएपनि बच्चा सकुशल जन्माउने प्रण गरेकी आमाले त्यस्ता नाथे शब्द र खिसीमा के ध्यान दिनु भनेर आफैलाई सम्झाए । मेरो शरिर अलि ठुलो छ । अरुले मोटी भने पनि ठुलो खानदानी ज्यान भनेर म त्यसैमा गर्व गर्छु, त्यो बेला त झन ९० केजी भएकी थिए । म प्रसव पिडामा छट्पटाईरहदा यी कानले सुनिहाले–"आम्मामा...ज्यान पनि कत्रो हो ९ महिना खाएरै मात्र बसे जस्तो पेटमा बच्चा भन्दा धेर बोसो राख्नुभएछ ।"
गाह्रो होला नर्मल जन्माउन त ,तिनीहरूलाई के थाहा है बच्चा जन्मिने दिन सम्म पनि म बिहान ३ आरी कपडा धोएर अफिसमा काम गरेर बल्ल अस्पताल पुगेकी थिए भनेर । यति बेला ती शब्द धेरै तिखा भएपनि मैले हाँसेरै जिते । प्रसव पिडालाई समेत उछिनेर झुटो नै सही तर अनुहारमा मुस्कान ल्याउन सके......कठै म ...कठै हामी महिला...आफ्नै माया लाग्दै छ अहिले।
अईयााााा.......फेरी सम्झँदै दुख्यो......हे भगमान कति पटक के कति पटक बार बार आएर कति घर खुल्यो भन्दै हात घुसाउनु पर्ने ...... उफ्फफफ .... .. जुरुक्क उठेर नछोओ । मलाई नघोच मलाई पिडा माथि पिडा न थप मलाई भन्दै चिच्याउन मन थियो । तर म लाचार थिए मेरो शरीर सायद उनीहरूको प्रयोगशाला बन्दै थियो तर म त्यो असह्य पिडा चुपचाप दाह्रा किटेर मुठ्ठी बाँधेर सहि रहे । आँशुले मात्र सहेन र फुत्कियो बगिरह्यो तर म सहिरहे मात्र मेरो सन्तान सकुशल जन्माउनुथ्यो मलाई ।
साँझको ५ बजेपछि मलाई ब्यथाले अलि बढी नै च्यापे पछि लेबर रुममा लगियो श्रीमान् र आमा साथमा हुनुहुन्थ्यो आँट र साहस दुवै थियो यो व्यथा खप्न अब त एक्लै छु ......बस साथी छ त यही प्रसव व्यथा जुन लाग्दै छोड्दै गर्दैछ.........
मलाई पनि लामो व्यथा लागेर होला त्यो लेबर रुममा भएको सामान्य भन्दा अलि अग्लो बेडमा म छट्पटाईरहेको थिए रूदै थिए चिच्याउँदै थिए तर विना आवाज ...कस्तो डर थियो के त्यो सम्झँदै आत्तिन्छु म मानौँ ठुलो अपराध गरेर सजाय भोग्दै छु।
श्रावणको महिना यसै गर्मी त्यसमाथि प्रसव पिडा अनि डर...... ओठ मुख तालु सब सुकिसकेको थियो ,छेउको टेबलमा आधा भरिएको पानिको बोतल देखे नर्सलाई त्यो पानी पिउन दिनुन पिउँछु भने, उनी नसुने जस्तो गरिन मैले कुरा बुझे र फेरी भने मेरो मान्छेलाई पानी ल्याउन भन्दिन मिल्छ ? मलाई एकदमै प्यास लागेको छ खरो होला जस्तो भइसक्यो......उनी यो पटक पनि केही बोलिनन् तर झन्डै आधा घण्टा पछि २ वटा फ्रुटी मेरो बेडमा फुत्त दिइन मानौँ म माथि ठुलो उपकार गरिन उनले । मलाई चिसो पानी घटघट पिउन मन छ पानी मगाईदिनुन मात्र के टुङ्ग्याउदै थिए । होटेल हैन म्याडम यो भन्दै उनी हिडीन......मैले त्यही फ्रुटी पिए बाध्य जो थिए...यहाँ सम्झिए मैले, अभावले हैन त्यो दिन खटिएकी नर्सको निर्दयी स्वभावले मैले त्यो प्रसव पिडाले खरो हुँदा पानी सम्म पिउन पाईनछु ।
रातीको १०ः१५ तिर बच्चाले बल गर्न थालेछ म आत्तिए मेरो बच्चा जन्मन लाग्दैछ डाक्टर बोलाउनुन प्लिज भन्दै रूदै चिच्याए, अलि पर बसेकी नर्सलाई मेरो चिच्च्याहटले खासै फरक परेन ,मेरो पिडाले उसलाई कतै छुँदै छोएन र त होला उनी बिस्तारै जग्गेमा हिडन लागेकी बेहुली झैँ हिन्दै मेरो छेउमा आएर मैले लगाएको म्याक्सी माथि तिर उचालेर हेरिन, बच्चाको टाउको निस्कन आँटेछ अब उता कुर्सिमा जान पर्छ ओर्लनु त ,मैले उनलाई पक्डेर ओर्लन मात्र के खोजेको थिए ,अरे किन छोएको मलाई भन्दै तर्किन.........म अवाक् भए मानौँ म कुनै जटिल सरुवा रोग सङ्क्रमित हु जस्तो व्यवहार हुँदा ...एउटा हातमा क्यानुला छ अप्ठ्यारो छ बेड यसै अग्लो त्यसमाथि बच्चाको टाउको निस्कँदै छ म कसरी ओर्लनु अब रुन थालेछु......तिनै सेतो कोर्ट लगाएकी तर कालो मन र धमिलो व्यवहार भएकी नर्स फेरी च्याठिदै बोलिन–छिटो झर्नुस् त बच्चा च्यापियो या भुईँमा झरो भने केही भन्न पाइँदैन है हामीलाई । कति तितो लय कति टर्रो शब्द अनि कति अभद्र भावना तिम्रो भन्न मन थियो तर फेरी पनि उही लाचारी, आवाज विहीन जस्तो हुँदै बिस्तारै झर्न खोजे म । मेरो कुममा यतिबेला एक महिलाले समाएर साथ दिइन सायद उनी सहयोगी कर्मचारी हुनपर्छ ।
केही समयको थप पिडा पछि १०ः३० मा बच्चा जन्मियो,बच्चाको अनुहार देखेपछि एकछिन अघिसम्म भएका दुर्ब्यबहार गर्ने जतिलाई आम माफी दिने घोषणा गर्यो यो मनले । खुशीको पनि सीमा नाघेर रमाउन लाग्दै मात्र थिए नर्सको बोलिले भुईँमा थेचार्यो मलाई–के भो यो बच्चा त रूदैन त चलमल नै छैन ...छ कि छैन.........एति भन्दै खै कता प्याट प्याट पिटे जस्तो लाग्यो ।
मेरो श्वास रोकिए जस्तो भो त्यो २ सेकेन्डमा मैले सबै देवी देवता सम्झिसकेकी थिए , म भक्कानिएर रुन मात्र के लाग्या थिए मेरो छोरोले मेरो रूवाइ चोर्यो बच्चा रुन थाल्यो अनि म हास्न............
मेरो बच्चालाई अलि पर एउटा सिसाको बट्टामा सायद त्यो अक्सिजन मास्क हुनपर्छ त्यो लगाएर राखिदिएको थियो । म कोल्टे परेर एक तमासले उसैलाई हेरी रहे । बाबुको मास्क अलि तल सरेजस्तो नाक थुने जस्तो उसलाई असहज भएको जस्तो बच्चा अलि बढी चलमल गरे जस्तो महसुस भो मलाई । नर्सलाई आत्तिँदै भने मेरो बच्चाको मास्क एकपल्ट हेर्दिनु ,तपाई किन जान्ने हुनु भएको हामी हेरिरहेको छौ केही भा छैन बच्चालाइ ,जवाफ यही थियो .........म केही बोलिन । अघि कुम पकडेर बेडबाट झर्न हेल्प गर्ने बैनीलाइ देखे आशा जाग्यो इसाराले बोलाए र मास्क हेर्दिन अनुरोध गरे नभन्दै ती बैनीले मास्क मिलाइ दिए पछि बच्चाले सहज महसुस गर्यो । अब मन अझ डरायो धन्न मैले मेरो बच्चा हेरेछु मास्क मिलाउन अनुरोध गरेछु प्रभु नत्र के हुन्थ्यो होला
मेरो छोरा गएको श्रावण १० गते ७ वर्ष पुरा भएर ८ वर्ष लाग्यो उसले पनि कहिलेकाँही मलाइ घरमा एउटा साथी लाप्पा खेल्ने भए नि भाइटिका लाइदिने भए नि चाहियो चाहियो भन्दै रहर पोख्छ । साच्चै भन्ने हो भने प्रेग्नेन्सी को सुरुवातमा पानी नअडिने पिडा पनि सहुला, बढेको ज्यान पनि सम्हालुँला , करियरमा लाग्ने ब्रेक पुन: सुचारु गरूला । सबै स्वीकार गरूला भन्ने आँट आउँछ तर ......त्यो अस्पतालको बसाईको मानसिक पिडा र महिला भएकै कारण सहनु पर्ने विभेदले मन मर्छ ।
हामीलाई जन्म दिने कर्म नै कतै गलत पो हो कि भन्ने महसुस गराउदैछन् अस्पतालका नर्सले जस्तो पनि लाग्छ । हुन त हामी महिलाले गर्भधारण गर्दिन, विना ब्रेक करियर अघि बढाउछु भने यो सृष्टि कसरी अघि बढ्ला है ? हाम्रो दुइ अक्षरको No ले यो संसार के होला है?