काठमाडौं, असार १८
एएफसी महिला एसियन कप छनोटमा नेपालले दोस्रो खेलमा आज दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकासँग खेल्दैछ। खेल साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ।उज्वेकिस्तानमा नेपालले सानदार सुरूवात गर्दै लाओसलाई ९-० ले हराएको थियो। आत्मविश्वासी नेपाली टोली श्रीलंका विरूद्ध पनि शतप्रतिशत जितकासाथ छनोटको संभावनालाई मजबुत बनाउन चाहन्छ।
श्रीलंका पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो
अन्तरमा हारेको थियो। त्यसैले तुलनात्मक रुपमा श्रीलंकालाई सहज प्रतिद्वन्द्वी
आक्न सकिन्छ। साथै श्रीलंका विरूद्ध नेपाल अहिलेसम्म अपराजित छ। ८ पटक खेल्दा
नेपालले श्रीलंकालाई सबै खेलमा हराएको छ।
फिफा वरियतामा पनि नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक
सयौं र श्रीलंका १ सय ५९ औं स्थानमा रहेका छन्।
आजको खेलमा पहिलो लक्ष्य नेपालको लागि जित हो भने ठूलो अन्तरको जित
पनि जरुरी रहनेछ। किनकी उज्वेकिस्तानले श्रीलंकालाई १० गोलले हराएको छ। यदि
उज्वेकिस्तानसँग बराबरी नतिजा आएको खण्डमा गोल अन्तरको महत्व हुनेछ।
पहिलो खेलमा नेपालले गोलको बर्षात गरेको थियो। पहिलो पटक कप्तानको
जिम्मेवारीमा रहेकी सावित्रा भण्डारी (साम्बा) ले ४ गोल गर्दा अनिता बस्नेत, अनिता केसी, रश्मिकुमारी
घिसिङ र सरु लिम्बुले समान १ गोल गरेका थिए।
सो खेलमा प्रशिक्षक प्याट्रिक डि वाइल्डले कप्तानसँगै प्लेइङ
इलेभेनमा नै व्यापक हेरफेर गरेका थिए। उनले गोलकिपर अन्जना राना मगरलाई मौका दिएका
थिए। साथै नियमित प्लेइङ इलभेनमा प्रीति राई, रेखा पौडेल, पूजा राना, विमला विक
लगातयका खेलाडीलाई बेन्चमा राखेका थिए।
प्याट्रिकको लागि पनि यो दोस्रो खेल हो। दोस्रो खेलमा उनको रणनीति
र खेलाडी छनोट सबैका लागि प्रतीक्षाको विषय बनेको छ।
समूह ‘एफ’ मा आयोजना उज्वेकिस्तान ३ अंक सहित गोल अन्तरको कारण
शीर्षस्थानमा छ। नेपालसँग पनि समान ३ अंक नै रहेको छ। नेपाल दोस्रो स्थानमा छ।
लाओस र श्रीलंका पहिलो खेलमा पराजित भएका थिए।