रुमा रिजाल
मस्त निन्द्रामा भएका बसन्तलाई साथीको फोनको घण्टीले ब्युँझायो । हत्त न पत्त फोन उठाए, कुरा सुन्दा उनलाई लाग्यो उनी सपनामा छन् ,उनलाई त्यो रात ४ वर्ष अघि आफ्नै फ्याक्ट्रीमा लागेको आगलागी सपनामा देखे जस्तो लाग्यो रे तर त्यो विपना थियो । ४ वर्ष अघि जसरी आँखै अगाडि उनको प्लाइ फ्याक्ट्री खरानी भएको थियो, जेठ १४ गते सोही नियति दोहोरियो । सुनसरी खनारमा रहेको उनको विशाल तिरुपति प्लाइउड फ्याक्ट्री काठ उद्योगमा बिहान सवा २ बजे आगो लागेको खबर आयो । बिहान साढे दुई बजेदेखि लागेको आगो विद्युत सर्ट भएर सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहबी, इनरुवा लगायत स्थानका १६ वटा दमकल प्रयोग गरिए । आगो निभे सँगै राठीको उद्योग पनि खरानी भयो ।
०७७ साल चैत २३ गते सोमबारका दिन सोही काठ उद्योगमा आगलागी भएको थियो । ‘उही प्रकृतिको विपत्ति कसरी दोहोरीरहेको छ, मैले बुझ्न सकिरहेको छैन’ उद्योगका सञ्चालक बसन्त राठी भन्छन् ।
०७७ सालको आगलागी पछि उनले उद्योगमा आगलागी भइहाले के गर्न सकिन्छ सोचेर उद्योगमै फायर फाइटिङको लाइन ब्यवस्था गरेर पानीको ट्याङ्की समेत बनाएका थिए । आगो लागेको १५ मिनेटमै थाहा पाउदा पनि केही सामान बचाउन नसकिएकोमा पछुतो मान्छन् । परेको बेला केही काम नआएको उनको भनाइ छ । यो आगलागीले उनको करोडौँको नोक्सानी त गर्याे तर केही सिकाइ पनि भएको छ । उनी भन्छन्,‘ आगलागी भएको स्थानमा हेर्नको लागि मानिसहरूले भिड गरिदिने अनि सबै जना त्यहाँ जान्ने बनेर ‘यता पानी हाल, यो गर, त्यो गर’ भनेर काम गर्नेलाई समेत अलमलिँदा मैले १३ करोडको कच्चा पदार्थ गुमाउनु परेको छ ।’ घटना भएको स्थानमा समन्वयको एकदमै जरुरी देखिन्छ तर जसलाई जता मन लाग्यो त्यतै काम हुँदा कुन महत्वपूर्ण छ भन्ने नै थाहा हुन्न, ‘यसर्थ प्रदेशमै एउटा यस्तो विज्ञहरुको टोली हुन पर्याे कि उनीहरुकै मात्रै कमाण्ड हुन पर्छ जसले हुन लागेको क्षतिलाइ पनि बचाउन सकिन्छ’ भन्ने सिकाइ भएको उनले बताए । चालु आर्थिक बर्षको जेठ २७ गते सम्ममा मात्रै सुनसरीको इटहरी उपमहानगरपालिकामा २६ वटा आगालागीका घटना भइसकेकाछन् यसले पनि इटहरी आगालागीको उच्च जोखिममा रहेको पुष्टी गर्छ ।
०८१ चैत १३ गते बिहान साढे ९ बजे इटहरीको मुख्य चोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भयो । आगो निभाउन सुनसरी मोरङका स्थानीय तहका १२ वटा दमकल प्रयोग गरिए । तर आगो निभ्न ६ घण्टा लाग्यो । जब आगो लाग्छ आागोको राँकोले क्षणभरमै खरानी बनाउछ । तर लामो समय सम्म आगो निभाउन नसक्दा क्षती धेरै हुने गरेका घटना छन । त्यस्तै भयो गत चैत्रमा सेन्टर प्लाजामा । दश तले भवनको मध्य भागमा लागेको आगो निभाउन प्रयोगमा आएका दमकलले मात्रै निभाउन सकेनन । नेपालमा प्रयोगमा भएका दमकलको आगो निभाउने क्षमता तेस्रो तला सम्म मात्रै पानी फ्याल्न सक्ने भएको विपद् विज्ञ डाक्टर गंगालाल तुलाधरले बताए । उनका अनुसार ‘नेपालमा बहुतले घरमा लागेको आगो निभाउन सक्ने क्षमताका दमकल अभाब छ ।’ यसमा सरकारले त्यति ध्यान दिएको देखिन्न ।
फर्म, उद्योग, व्यापारिक भवन संचालकहरुले यस्ता विपद्का लागि आवश्यक पूर्व तयारीमा ध्यान दिएको पाइँदैन । भवन बन्छ तर त्यहाँ आगो लागिहाले त्यसबाट कसरी बच्ने, लाग्नै नदिन के गर्ने भन्ने बारेमा ब्यक्ती नै चनाखो हुदैनन् फलस्वरुप ठूलो क्षती बेहोर्न पुग्छन् । प्लाजा सञ्चालक सिद्धार्थ श्रेष्ठले बताए अनुसार हुन त ‘भवनमा आन्तरिक रूपमा आगो निभाउने उपकरण नभएको होइन तर ठूलो आगो लागेकाले त्यो प्रयोगमा नआएको उनको भनाइ छ ।’ गत चैतमा हरिनगर गाँउपालिका ५ नम्वर वडा बसन्तपुरमा आगलागीमा परेको परिवारलाई राहत बाँड्न पुगेका गाँउपालिका अध्यक्ष गफार अंसारी फिल्डमै भेटिए ।
आगलागी पीडित १३ घर परिवारलाई उनले तत्काल एक जना बराबर १२ हजार सम्मको सामाग्री वितरण गरेको बताए । ‘स्थानीय सरकार भएको हैसियतले मैले १४ घण्टा भित्रैै राहत पीडितलाई दिलाउन सकेको छु, यो नै ठूलो कुरा हो’ उनले भने । यो आर्थिक बर्षको जेठ २७ गते सम्म मात्रै हरिनगरमा १२ वटा आगलागीका घट्ना भएका छन । जसमा धेरै नोक्सानी भएको छ तर पालिकासंग आफ्नै दमकल समेत छैन । छिमेकी ३ वटा पालिकासंग साझेदारीमा चलाउनु पर्छ । तिन वटा पालिकामा एकै पटक आगो लागे निकै सकस हुन्छ । अध्यक्ष अन्सारीले भने, ‘पालिकाले आगलागिको पुर्ब तयारी भनेर सचेतनाका कार्यक्रम गर्ने गरेको छ ।’
इटहरी उपमहानगर वातावरण तथा विपद् शाखाका प्रमुख पुष्पनारायण चौधरीले भने, ‘उपकरण भएपनि बिपद्मा ति उपकरण प्रयोग गर्न जान्ने जनशक्ती नहँुदा समस्या भएको छ ।’ इटहरीमा २ वटा दमकल छन् तर प्रयोगमा एउटा मात्रै छ । सेन्टर प्लाजाको आगलागीमा अन्त्यमा विराटनगरबाट क्रेन मगाएर आगो निभाइएको थियो । इटहरी जस्तो विकसित शहरमा अग्ला ब्यापारिक भवनमा आगोलागे क्रेन मार्फत निभाउनु पर्ने भएकाले क्रेनको अभाव देखिएको छ ।
इनरूवा नगरपालिका सुनसरीको दक्षिणी भेगमा रहेको नगर हो । जुन आगलागी जन्य विपद्को उच्च जोखिममा छ । तर नगरले विपद् सम्बन्धी ऐन र कानुन बनाए पनि खास आगलागीबाट जोगिने योजना बनाएको छैन । इनरुवा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा भने ११ लाख हाराहारी रकम जम्मा छ । राहत मापदण्ड समेत नबनेका कारण आगलागी पिडितहरु नगरले प्रदान गर्ने राहत पाउनबाट बञ्चित छन । विपद् शाखाका निरज पोख्रेलले भने, ‘विगत ३ वर्षमा नगरमा कुनै पनि विपद् नआएका कारण राहात वितरण गर्नु परेको नै छैन ।’
यता जिल्ला प्रहरी कार्यलय सुनसरीको विपद्को तथ्याकं हेर्ने हो भने इनरूवा नगरपालिका भित्र मात्रै ३ बर्षको अवधिमा ७० वटा र चालु आर्थिक बर्षको साउन १ गते देखि जेठ २७ सम्म मात्रै पनि ३७ वटा अगलागीका घटना भएकाछन् । सुनसरीको कोशी गाउँपालिका अर्काे आगलागीको जोखिम क्षेत्र हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष साना ठूला गरी ३० वटा आगलागीका घटना कोशी गाँउपालिकामा मात्र भएका थिए । साउन १ गते देखि जेठ २७ गते सम्म १९ वटा आगलागीका घटना भएका छन ।
पालिकाले गत आर्थिक वर्ष (२०८०–०८१) मा आगलागी पीडितलाई १९ लाख १९ हजार २ सय ५६ रूपैया बराबरको राहात वितरण गरेको जनाएको छ । आगलागीको पूर्ब तयारी के छ भन्ने प्रश्नमा राहत धमाधम बाँडिरहेको छौ अरु उपाय नै छैन भन्ने जवाफ आयो । आगलागिको उच्च जोखिम भए पनि कोशी गाउँपालिकाले आगलागीबाट बच्नको लागि पुर्वतयारीमा भने खासै काम भएको छैन । ‘सामान्य आगो निभाउने ग्याँस सिलिन्डर खरिद र दमकल बाहेक अन्य काम त खै के नै गर्ने होर आगलागीमा अरु विपद् जस्तो काम गर्ने नसकिने’ कोशी गाँउपालिका अध्यक्ष ऐयुब अन्सारी भन्छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका घटना धेरैजसो मानवीय त्रुटिकै कारणले नै हुने गरेको पाइएको छ । मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको प्राधिकरणले जनाएको हो । ‘त्यसमा पनि आगलागीका घटना विद्युत सर्ट भएर बढि हुनेगरेका छन । कमसल तार प्रयोग गर्ने तथा वायरिङमा साबधानि नअपनाएका कारण आगालागीका घटना हुने गरेको प्राधिकरणले बताएको छ ।
प्राकृतिक विपद् बाढी, पहिरो, हावाहुरी तथा आगलागी नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्ने दायित्व स्थानीय, प्रदेश र सङ्घीय सरकारको हो । सानोतिनो विपद्का घटना स्थानीय तहबाटै समाधान हुन सक्छन्, भने मध्यमस्तरका विपद्को पूर्व तयारी गर्ने जिम्मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत पर्छ ।
कोशी प्रदेशको सो मन्त्रालयले आगलागीको मौसम सुरु हुनु भन्दा अघि सचेतनाका कार्यक्रममा जोड दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले बताए । उनका अनुसार कोशी प्रदेशका १ सय ३७ वटै पालिकाको विपद् कोषमा १ देखी डेढ करोड सम्मको बजेट भने देखिन्छ । सबै जिल्लामा दमकल पुगेको छ । सचेतनाका कार्यक्रमले नै आगलागी न्यूनिकरण गर्न सक्ने उँहाको बुझाइ छ ।
कोशी प्रदेशमा गत फागुन देखि हाल जेठको २७ गतेसम्म मात्रै ८ सय ९९ वटा आगलागीका घटना भएका छन । जुन घटनामा परी गत चैत्र र बैशाख महिनामा ११ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरीको तथ्याकंमा उल्लेख छ । मन्त्रालयका उपसचिव थापाका अनुसार कोशी प्रदेश सरकारको विपद् जन्य घटनामा तत्काल उद्धार गर्न ह्याबी इक्युपमेन्ट डिभिजन कार्यलय इटहरीमा छ । जहाँ आगलागीमा नियन्त्रणका लागि चाइने उपकरण तयारी अवस्थामा राखिएको छ । इटहरीमा रहेको डिभिजनमा एउटा क्रेन, ३ वटा एक्जाभेटर ,३ वटा ह्वील लोडर , ८ वटा ब्याक हो लोडर र अन्य ८ वटा निजी ब्यक्तिका समेत गरेर कोशीमा ९ वटा क्रेन, ५३ वटा दमकल रहेका छन । उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा दमकल सेवा पुगेको छ ।
कोशी प्रदेशले अब कोशी अत्यावश्यक सेवा केन्द्र भनेर ४ वटा स्थानमा भवन बनाउने तथा सामाग्री तयारी अवस्थामा राख्ने गरी काम गर्ने सम्झौता भएको छ । सोही अनुसार झापाको अर्जुनधारा र मोरङको रंगेलीमा काम भइरहेको छ । बराहक्षेत्र नगरपालिका , रामधुनी नगरपालिका र कोशी गाउँपालिकाको संयुक्त प्रयासमा कोशी गाँउपालिकामा सेवा केन्द्र स्थापना हुने सम्झौता भएको छ । तेह्रथुममा अर्काे बन्ने सहकार्य भएको हो । सो केन्द्रमा बिपदका बेला प्रयोगमा आउने सम्पूर्ण सामाग्री मौज्दातमा राखिनेछन ।
आगामी आर्थिक वर्षको बजेटले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई ‘कोशी अत्यावश्यक सेवा केन्द्र’ मा रुपान्तरण गरिसकिएको छ । सो केन्द्रहरु अगामी वर्षमा निर्माण कार्य सम्पन्न गरिने र अत्यावश्यक सेवा केन्द्र स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्न विशेष व्यवस्था मिलाएको बजेटमा उल्लेख छ । कोशी अत्यावश्यक सेवा केन्द्र सञ्चालन तथा नयाँ निर्माणका लागि ६ करोड विनियोजन कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताए । प्रदेश सरकारले विपद्बाट क्षतिग्रस्त अत्यावश्यक सेवाका सडक, खानेपानी, सिँचाइ, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायका संरचना तत्काल मर्मत वा पुनः निर्माण गर्न आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरेको जनाएको छ । विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन आवश्यक सामग्री र उपकरणहरुको थप व्यवस्था गरि विपद् खोज, उद्धार तथा राहतमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि गरिने साथै जोखिमपूर्ण स्थानमा रहेका बस्तीलाई स्थानीय तह र सरोकारवालासँगको सहकार्यमा स्थानान्तरण गरी एकीकृत बस्ती व्यवस्थापन गर्ने कार्यको तयारी प्रदेश सरकारले शुरु गरेको छ ।
३ असार २०८२, बुधबार ०८:५७ मा प्रकाशित