पर्वत, कात्तिक ९
पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो ।
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गत भदौ २१ गते पहिरोस्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो । विभागका भूगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिनुभयो ।
पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले जानकारी दिनुभयो । पहिरोस्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनको आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ ।
आगामी वर्षा हुनु अगावै ती घरहरू सुरक्षित स्थानमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबीच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्नका लागि पहल गरिएको समेत प्रजिअ आचार्यको भनाइ छ । कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदो सहितको पहिरोले हालसम्म ६ वटा घरपरिवार समस्या परेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।
८ कार्तिक २०८०, बिहिबार ०१:२३ मा प्रकाशित