गलेश्वर (म्याग्दी), १२ कात्तिक
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको खेतमा पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।
धानबालीमा डरलाग्दो मानिने गवारो, खैरो फड्के किरा र पोके रोग अहिले म्याग्दीको धानबालीमा देखापरेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घट्ने चिन्तामा किसान छन् । धानबालीमा प्रकोपकैरूपमा बाला नष्ट हुन थालेको बेनी नगरपालिका–२ बगरफाँटका खड्गबहादुर घिमिरेले बताउनुभयो ।
जिल्लाको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटहरुमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखापरेको सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरूले बताएका छन् ।
रैथाने धानको बीउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका ठाउँमाभन्दा आयातित विकासे बीउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगले यस वर्ष धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ । रत्नेचौर, बगरफाँट, फापरखेत, सीमलगायत बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखापरेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
११ कार्तिक २०८०, आईतबार ०३:०६ मा प्रकाशित