नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न छ सङ्गठनकाे विज्ञप्ति

Jhalkonepal

काठमाडौँ, जेठ १९

नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न विभिन्न छ सङ्गठनले माग गरेका छन् ।

महासङ्घको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

 ति सङ्गठनले महासङ्घ नेतृत्वलाई छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरेका छन् । “निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

महासङ्घका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

विज्ञप्तिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस सङ्गठनका संयोजक कमल बुढाले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया