काठमाडौं, फागुन २१
नेपाल क्रिकेट संघ
(क्यान) ले युगाण्डामा हुने चारदेशीय टी–२० शृंखला खेल्न जाने नेपाली महिला क्रिकेट
टोलीलाई बिदाइ गरेको छ।
क्यानले एक कार्यक्रमको
आयोजना गरी नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो। यही
फागुन २४ गतेदेखि हुने उक्त शृंखलामा नेपालसहित युगाण्डा, हङकङ र नामिबिया सहभागी छन्।
क्यानका सचिव पारस
खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव
बटुल्न मद्दत पुग्ने बताए। नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी
राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन्।
त्यसैगरी नेपाली टोलीका
प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए। नेपालले
आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ।
त्यसैगरी फागुन २५ गते
युगाण्डासँग र फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङकङसँग खेल्नेछ। यी
सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।