दार्चुला, पौष ८
दार्चुलामा महाकाली नदी पार गरेर अनुमतिबिना भारतीय जेसिबी नेपालतर्फ आएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले आइतबार पक्राउ गरेका छन् ।
दार्चुलावासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरेर आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले एक्साभेटर मेसिन र चालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारिपट्टि तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत एक्साभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरेर कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
नेपालतर्फबाट स्थानीयले पटक पटक भारतीय दादागिरीको विरोध गरे पनि सरकारी पक्षको उदासीनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सतह घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठुलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताए ।
“नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो । हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौँ,” स्थानीय सुन्दर धामीले भने, “भारतले भने महाकाली नदीको सिमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ ।”