साफ यू–१९: टाइब्रेकरमा जित निकाल्दै भारतले जित्यो उपाधि

Jhalkonepal

काठमाडौं, जेठ ४

 साविक विजेता बंगलादेशविरुद्ध ‘टाइब्रेकर’मा जित निकाल्दै भारतले साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार गोल्डेन जुबिली रंगशाला युपियामा भारतले बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले निराश बनाएको हो ।

पेनाल्टीमा भारतका सिंगामायुन सामी, जोड्रिक अब्रान्चेस, ऋषी सिंह र अर्बासले गोल गरे । भारतका रोहन सिंहको प्रहार विफल भएको थियो ।

बंगलादेशका मोहम्मद जोय अहमेद, मोहम्मद मुर्सेद अली र मिथुले गोल गरे । बंगलादेशका सालाह उदिन साहेद र नज्मुल हुडा फैसलको प्रहार विफल भएको थियो ।

खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

खेलको दोस्रो मिनेटमै सामीले गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए । ६१औँ मिनेटमा जोयले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

यसअघि, गत वर्ष नेपालमा भएको प्रतियोगिताको उपाधि बंगलादेशले जितेको थियो । उक्त संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई नै हराएको थियो ।

प्रतिक्रिया