काठमाडौँ, असार ७
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस
मनाइँदैछ ।
सरकारले दिवस मनाउन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल
समारोह समिति गठन गरेको छ ।
समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष
कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा सरकारका विशिष्ट
पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् । मूल कार्यक्रमअघि
पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त
मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो । मूल समारोह समितिको
गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र
स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै
शिक्षा विकास तथा समन्वय इकाइ मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको
थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन्
२०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१
देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत
गरेको थियो ।