काठमाण्डौ फागुन २६
सुदूरपश्चिम प्रदेशसरकारले मन्त्रिपरिषद् विस्तार गरेकाे छ । मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको हाे । अल्पमतमा पर्नु भएका उहाँले चौथो
पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री समेत
नियुक्त गर्नुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम
चौधरी र खुशीराम डङ्गौरा थारुले मन्त्रीको तथा इन्दिरा गिरीले राज्यमन्त्रीको शपथ
ग्रहण गर्नुभएको छ । शुक्रवार राति ९ बजे प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई
पद तथा गोपनीयताको
शपथ ग्रहण गराउनु भएको हो ।
घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी
दिइएको छ । इन्दिरा गिरी कृषि राज्यमन्त्री हुनुभएको छ । खुशीराम डङ्गौरा थारुलाई
विना विभागीय मन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाटै कृषि राज्यमन्त्री
रहनु भएका कैलाश चौधरीलाई फिर्ता बोलाइएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले
दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा
परेको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार
चलाउनका लागि गठबन्धन गरे पनि बहुमत पुगेको छैन ।
५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार
चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र नागरिक
उन्मुक्ति पार्टीका सात गरेर २५ जना मात्रै भएको छ ।