कंचनपुर, पौष २७
गृहमन्त्री रमेश लेखकले लागुऔषध विरुद्ध विद्यालय स्तरदेखि नै अभियान चलाउन र त्यसमा स्थानीय निकायले समेत हातेमालो गर्न आग्रह गर्नु भएको छ । कञ्चनपुरमा नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सव कार्यक्रममा पुग्नु भएको गृहमन्त्री लेखकले ‘लागू औषधको दुव्र्यसनका कारण सडक दुर्घटना र आत्महत्याका घटना बढि रहेकोले सबैले यसका विरुद्ध सकृय भइ लाग्नु पर्ने बताउनु भएको हो ।
कञ्चनपुर जिल्लाका सबै विद्यालयमा लागू औषधविरुद्ध एउटा साझा पाठक्रम सञ्चालन गरेर अभियानमा हातेमालो गर्न वहाँले स्थानीइ तहका जनप्रतिनिधिहरुलाई समेत आग्रह गर्नु भयो । ‘कञ्चनपुरबाट सुरु हुने लागु औषध विरुद्धको अभियानले देशभर एउटा सन्देश दिन सकोस र देश लागू औषध मुक्तिको अभियानमा अगाडि बढ्न सकोस्,’ उहाँले भन्नुभयो ।
यस्तै देशमा दण्डहिनताको अन्त्य, भ्रष्टचार नियन्त्रण, सुशासन, विधिको शासन स्थापित, शान्ति र सुरक्षा सरकारको प्राथमिकताको विषय भएको गृहमन्त्री लेखकको भनाइ छ । ‘आर्थिक गतिविधि अगाडि बढाएर देशको समग्र विकास गर्न सरकार अग्रसर छ । देशमा शान्ति सुरक्षा कायम गरेर शिक्षाको क्षेत्रमा विकास गर्न चाहन्छौं,’ उहाँले भन्नुभयो ।
सुदूरपश्चिममा भौगोलिक जटिलता मात्र नभएको भन्दै सबैभन्दा ज्यादा सम्भावना पनि रहेको उहाँको भनाइ छ । ‘विकास निर्माण, भौलिक पूर्वाधार, पर्यटन, व्यापार, औधोगिककरणको क्षेत्रमा सुदूरपश्चिमलाई अगाडि बढाउने कुरा नेपाल सरकारको प्राथमिकतामा छ,’ उहाँले भन्नुभयो ।