बागलुङ, फागुन १६
आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
सडकमा जमेको बाक्लो हिउँका कारण
लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला
गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ ।
सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन
हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले
जानकारी दिए । अहिले पनि निरन्तर हिमपात भइरहेको उनले बताए ।
“बिहानैदेखि
वर्षा भएको थियो, अहिले
हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो
भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस
सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्”, अध्यक्ष घर्तीमगरले भने ।
नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको
माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन
प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए ।
१५ फाल्गुण २०८१, शुक्रबार ०२:१७ मा प्रकाशित