माइतीको आँगनदेखि सामाजिक सञ्जालसम्मः बदलिँदो तीज

Jhalkonepal

लमजुङ तीज भन्नेबित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चुरा, पोते, नाचगान र दरको सम्झना आउँछ तर तीज केवल एउटा चाडको नाम होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र समयसँगै बदलिँदै गएको सामाजिक अवस्थाको कथा पनि हो। एक समय थियो, तीज विवाहित चेलीका लागि माइती पुग्ने दुर्लभ अवसर थियो।

वर्षभरि कर्मघरको काममा व्यस्त हुने बुहारीका लागि माइतीको आँगनमा पुगेर दिदीबहिनी भेट्नु, सुखदुःख साट्नु र मनका कुरा गीतमार्फत पोख्नु नै तीजको ठूलो खुसी थियो। अहिले भनिन् तीजको स्वरूप फेरिएको छ। यातायात र सञ्चारको सुविधा बढेको छ। माइती पुग्न कसैको बाटो कुरिरहनु पर्दैन। तीज आउनुअघि नै दर खाने कार्यक्रम सुरु हुन्छ। साथी तथा दिदीबहिनी रेस्टुरेन्ट र समारोहमा भेटिन्छन्। तीजका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छरिन्छन्।

दोर्दी गाउँपालिका–३ की ७० वर्षीया यशोदा घिमिरेका लागि तीजको सम्झना अझै माइतीसँग जोडिएको छ। उनका अनुसार पहिले तीज विवाहित चेलीका लागि माइती भेट्ने प्रमुख अवसर थियो। विवाहपछि टाढाटाढा पुग्ने र वर्षभरिमा माइती आउजाउ गर्न सहज नहुने भएकाले तीजमा माइती जान पाउनु ठूलो अवसर मानिन्थ्यो। त्यतिबेला सवारीसाधनको सुविधा थिएन। टाढा माइती जान घण्टौँ हिँड्नुपथ्र्यो।

तीज आउन केही दिनअघि नै बाबु, दाजु वा भाइ चेलीलाई लिन कर्मघर पुग्ने चलन थियो। कतिपय चेली आफैँ पनि माइती जाने गर्थे। ‘त्यतिबेला अहिले जस्तो सवारीसाधन र सञ्चारका माध्यम थिएनन्। टाढा भएका माइतीसम्म पुग्न घण्टौँ हिँड्नुपथ्र्यो। त्यसैले तीजमा माइती भेट्नु नै ठूलो कुरा हुन्थ्यो,’ उनले भनिन्। माइती पुगेपछि दिदीबहिनी तथा चेलीबेटी एकै ठाउँमा जम्मा हुन्थे। नाचगान हुन्थ्यो, सुखदुःखका कुरा हुन्थे। घरपरिवारमा भोगेका पीडा, गुनासा र मनका कुरा तीजका गीतमार्फत सुनाउने गरिन्थ्यो। त्यसबेला फोन वा सामाजिक सञ्जाल थिएनन्। टाढा भएका आफन्तसँग प्रत्यक्ष भेटेरै कुरा गर्नुपथ्र्यो। त्यसैले तीज महिलाका लागि मनको भारी बिसाउने अवसर पनि थियो।

छोरी–चेली आउने भएपछि माइती पक्ष पनि बाटो हेरेर बस्थ्यो। घरमा चेलीका लागि दरको जोहो गरिन्थ्यो। उपलब्ध खाद्य सामग्री जुटाएर विशेष खाना बनाइन्थ्यो। सबैजना भेला भएर खाने, नाच्ने र रमाइलो गर्ने गरिन्थ्यो तर तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे। घरको कामलाई प्राथमिकता दिइने भएकाले कतिपयलाई सासू–ससुराले माइती जान अनुमति नदिने अवस्था थियो। बुहारीले घरधन्दा र अन्य काममा बढी समय दिनुपर्ने भएकाले माइतीसँग भेटघाट गर्ने अवसर सीमित हुन्थ्यो। ‘तीज आए पनि सबै बुहारी माइती जान पाउँदैनथे। घरको काम गर्नुपर्छ भनिन्र कतिपयलाई जान दिइँदैनथ्यो। त्यतिबेला काम नै ठूलो कुरा मानिन्थ्यो,’ उनले भनिन्।

बेँसीसहर नगरपालिका–२ भकुण्डेकी ४४ वर्षीया पार्वती क्षेत्रीले भनिन् आफ्नो पुस्तासम्म आइपुग्दा तीज मनाउने तरिकामा विस्तारै परिवर्तन आएको अनुभव गरेका छन्। अघिल्लो पुस्ताको तुलनामा महिलामा चेतना बढ्दै गएपछि चेलीलाई माइती जान दिने र महिलाले पनि चाडपर्व मनाउन पाउनुपर्ने सोच विकास हुँदै गएको उनी बताउँछिन्। ‘पहिलेभन्दा विस्तारै चेतना बढ्दै गयो। माइती जानुपर्छ, चाडपर्व मनाउन पाउनुपर्छ भन्ने कुरा पनि बुझ्न थालियो। त्यसपछि माइती जाने र भेटघाट गर्ने अवस्था अलि सहज हुँदै आयो,’ उनले भनिन्।

सडक र सवारीसाधनको पहुँच बढेपछि माइती आउजाउ अझ सहज भयो। पहिले बाबु, दाजु वा भाइ चेलीलाई लिन आउनुपर्ने अवस्था भए पनि पछि त्यो चलन क्रमशः कम भयो। फोनको सुविधा आएपछि माइतीबाट फोन गरेर बोलाउने र चेली आफैँ जाने क्रम बढ्यो। तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने परम्परा भनिन् कायम रह्यो। विवाहित महिलाले श्रीमानको दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने, दिनभरि साथीसङ्गीसँग भेटघाट गर्ने र नाचगान गरेर तीज मनाउने गरेको उनी बताउँछिन्। ‘तीजको अघिल्लो दिन दर खाने र भोलिपल्ट व्रत बस्ने चलन थियो। श्रीमान्को आयु लामो होस्, सबै राम्रो होस् भनिन्र व्रत बसिन्थ्यो। दिनभरि साथीसङ्गीसँग भेटेर नाचगान गर्दै सुखदुःख साटेर तीज मनाउँथ्यौँ,’ उनले भनिन्।

बेँसीसहरकी २५ वर्षीया स्वेच्छा श्रेष्ठले भनिन् आफूले देख्दै र भोग्दै आएको तीज अघिल्लो पुस्ताको भन्दा निकै फरक रहेको बताउँछिन्। उनका लागि तीज महिलाको पर्व हो। तीजमा दर खाने, व्रत बस्ने र श्रीमान्को दीर्घायुको कामना गर्ने परम्पराबारे उनी जानकार छन्। ‘तीज भनिन्को महिलाहरूको पर्व हो भन्ने बुझेकी छु। तीजमा व्रत बस्ने, अघिल्लो दिन दर खाने र श्रीमान्को आयु लामो होस् भनिन्र कामना गर्ने चलन हो भन्ने बुझेकी छु,’ उनले भनिन्।

उनका अनुसार अहिले तीज आउनुभन्दा महिनौँअघि देखि नै दर खाने कार्यक्रम सुरु हुन्छन्। साथी तथा महिलाहरू समूह बनाएर पार्टी, समारोह र रेस्टुरेन्टमा जाने, दर खाने र रमाइलो गर्ने चलन बढेको छ। परम्परागत खानासँगै मासु, चिउरा तथा विभिन्न पेयपदार्थसहितका कार्यक्रम पनि हुन थालेका छन्। पहिरन र गरगहनामा प्रदर्शनको प्रवृत्ति बढेको उनको अनुभव छ। कसले राम्रो पहिरन लगाउने र कसले बढी आकर्षक देखिने भन्ने प्रतिस्पर्धा देखिन थालेको उनी बताउँछिन्।

तीज मनाएका तस्बिर, भिडियो तथा कार्यक्रमका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्ने चलन पनि अहिले बढ्दै गएको छ। यसले तीजलाई घर, माइती र समुदायको सीमाबाट निकालेर सामाजिक सञ्जालको सार्वजनिक संसारमा पुर्‍याएको छ। तीजका गीतको स्वरूपमा आएको परिवर्तनप्रति भनिन् उनको चिन्ता छ। पहिले धार्मिक भावना, मौलिक संस्कार–संस्कृति तथा महिलाका सुखदुःख समेटिएका गीत गाइन्थे। अहिले तीजका नाममा मनोरञ्जन र नाचगानलाई बढी प्राथमिकता दिने गीत आउने गरेको उनको बुझाइ छ।

नेपाली मौलिक गीतसँगै विदेशी गीतमा पनि नाचगान गर्ने चलन बढेको उनी बताउँछिन्। ‘अहिले तीजको नाममा रमाइलो र नाचगानलाई बढी प्राथमिकता दिइएको जस्तो लाग्छ। मौलिक तीजका गीत र परम्परा जोगाउन सबैले सचेत भएर लाग्नुपर्छ,’ उनले भनिन्। उनी सम्भव भएसम्म गाउँघरमै, नभए आफ्नै घरमा साथीहरूसँग भेला भएर तीज मनाउने पक्षमा छन्।

तीजलाई केवल रमाइलो र प्रदर्शनको पर्वभन्दा पनि सुखदुःख साट्ने तथा मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउनुपर्ने उनको धारणा छ। तीन पुस्ताका यी अनुभवले तीजको बदलिँदो तस्वीर देखाउँछन्। हिजो तीज माइती पुग्ने र मनका पीडा पोख्ने अवसर थियो। त्यसपछि सडक, सवारीसाधन र फोनसँगै माइती आउजाउ सहज भयो। अहिले तीज रेस्टुरेन्ट, समारोह र सामाजिक सञ्जालसम्म विस्तार भएको छ।

माध्यम फेरिए पनि तीजको केन्द्रमा रहेको चेली र माइतीको सम्बन्ध, सुखदुःख साट्ने चाहना र आफ्नो संस्कृतिप्रतिको अपनत्व भनिन् हराउनु हुँदैन। तीजलाई समय अनुकूल बनाउँदै लैजाँदा त्यसको मौलिकता जोगाउने चुनौती पनि सँगसँगै आएको छ। माइतीको आँगनबाट सुरु भएको तीजको यात्रा आज सामाजिक सञ्जालसम्म आइपुगेको छ। अबको प्रश्न यही हो–परिवर्तनसँगै अघि बढ्दा तीजको मौलिक आत्मालाई कसरी जोगाउने ?

प्रतिक्रिया