९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न कार्यशालमा उठे पत्रकार महिलाहरूका गंभीर सवाल

Jhalkonepal


सुनसरी , फागुन ३०


९ बुँदे घोषणापत्र जारी गर्दै विराटनगरमा पत्रकार महिलाको क्षमता विकास कार्यशाला सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश महिला विभागको आयोजनामा सम्पन्न कार्यशालाले ९ बुँदे घोषणापत्र जारी गरेको हो ।

 कार्यशालाले पत्रकार महिलाहरूको पेसागत, भौतिक तथा आर्थिक सुरक्षाको सुनिश्चित गर्नुपर्ने, पत्रकार महिलाहरूले सञ्चालन गरेको स्वरोजगार मूलक सञ्चार माध्यमहरूलाई टिकाई राख्न तिनै तहका सरकारले विशेष सेवा सुविधा उपलब्ध गराउन पर्ने, मिडिया हाउसलाई महिलामैत्री बनाउन पर्ने, आदिवासी जनजाति, दलित अल्पसङ्ख्यक पत्रकार महिलाहरूलाई पेशा प्रति आकर्षित गर्दै यही पेशामा टिकाई राख्न विशेष व्यवस्था गर्न पर्ने, गर्भावस्था सुत्केरी अवस्थामा श्रमजीवी पत्रकार ऐनले व्यवस्थाले तोके अनुसारको सेवा सुविधा उपलब्ध गराउन, पत्रकार महासङ्घको नेतृत्व तहमा पत्रकार महिलाहरूलाई सहभागी गराउन लगायतका बिषय ९ बुँदे घोषणापत्रमा उल्लेख गरेकाे छ । 




कार्यशालाको उद्घाटन गर्दै  आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईले पत्रकार महिलाको क्षमता विकासका लागि बजेटको माग मात्रै नगरेर बन्न लागेको प्रदेश सञ्चार एैनमा आफूहरूका माग समावेश गर्न समेत आग्रह गर्नुभयो । पत्रकार महिलाको हकमा प्रदेश सरकार सदैव सकारात्मक रहेको समेत उहाँले बताउनुभयो । प्रदेशका १४ वटै जिल्लाका पत्रकार महिलाहरूले सहभागिता जनाएको कार्यशालामा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, महासङ्घका प्रदेश उपाध्यक्ष तथा महिला विभाग संयोजक हिमा चेम्जोङ केन्द्रीय सल्लाहकार निर्मला शर्मा लगायत जिल्लाका उपाध्यक्ष र पत्रकार महिलाहरू गरी ६० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यशालामा पत्रकारिताको माध्यमबाट समाजमा लामो समय योगदान पुर्‍याएका विभिन्न जिल्लाका ५ जना  महिलाहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पत्रकार ललिता भट्टराई, निलिफा सुब्बा , सुशीला सङ्ग्रौला , बाला अधिकारी र सामाजिक विकास मन्त्रालय महिला शाखा प्रमुख दुर्गा बराल रहनुभएको छ । 




सो कार्यक्रममा पत्रकार महिलाको वर्तमान अवस्था,पत्रकार महिलाले भोग्नु परेका समस्या,अनुभव ,अधिकार,पत्रकार महिलाले पत्रकारिता क्षेत्रमा पाएका अवसर र  यस क्षेत्रमा सरकारबाट के अपेक्षा गरेका छन् चुनौतीको समाधानका विषयमा पत्रकार महिला र सरोकारवाला निकायसँग छलफल संवाद भएको छ कार्यशालाले ९ बुँदे घोषणापत्र जारी गरी सरकारको ध्यानाकर्षण समेत गराएको छ ।  

प्रतिक्रिया