बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

Jhalkonepal

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध-सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ।

ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको उक्त परिपथका लागि संघीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेको र क्रमागत बजेटमार्फत काम सम्पन्न गरिने काभ्रेपलाञ्चोकका सांसद मधु चौलागाईले बताए।

पहिलो चरणमा रु १० करोड खर्च गरेर पनौतीको डबलीदेखि नमोबुद्धसम्मको सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण, विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना र थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछ।

चलनचल्तीका सडकलाई नै ‘बुद्ध-सर्किट’का रूपमा विकास गर्न लागिएको जानकारी दिदैँ उनले परिपथको गुरुयोजना तयार भइसकेको बताए।

उनका अनुसार पनौती-नमोबुद्ध करिब आठ किलोमिटर सडकलाई बुद्धसँग सम्बन्धित सम्पदाले भरिपूर्ण बनाउँदै आकर्षक पर्यटकीय मार्गका रूपमा विकास गर्ने उद्देश्य लिइएको छ।

बुद्ध-परिपथअन्तर्गत नमोबुद्ध-भकुण्डे सडकखण्डमा पर्ने दाप्चास्थित बोक्से सामुदायिक वनमा रतुवा मृग पार्क निर्माण गरिने छ। यसका लागि बागमती प्रदेशको वन मन्त्रालयमा योजना स्वीकृतिको प्रक्रिया अघि बढेको सांसद चौलागाईले बताए। 'मृग पार्कका लागि स्थान छनोट भइसकेको छ र प्रदेश सरकार पनि सकारात्मक छ', उनले भने।

यसैगरी, बिपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीस्थित चारदोबाटोमा ‘सांस्कृतिक सङ्गम गेट’ निर्माण गरिने छ। चारैतर्फबाट देखिने उक्त गेटमा विभिन्न धर्म तथा संस्कृतिका प्रतीक र सन्देशमूलक आकृति राखिनेछन्।  

उनका अनुसार नमोबुद्धदेखि भकुण्डेबेँसी हुँदै तेमालसम्मको करिब २५ किलोमिटर सडकको दायाँबायाँ बुद्धसँग सम्बन्धित भौतिक तथा सांस्कृतिक सम्पदा निर्माण गरिनेछ। विभिन्न स्थानमा माने, चैत्य तथा लाफिङ बुद्धका प्रतिमा स्थापना गर्नुका साथै थान्कालगायत जानकारीमूलक बोर्ड राखिनेछन्।

तेमालस्थित याङबेलमा भने गुरु रेन्पोछेको विशाल मूर्ति निर्माण गर्ने योजना छ। यसका लागि याङबेलमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको जनाइएको छ।

याङबेलमा ‘बुद्ध पार्क’ निर्माण गरी विश्वकै ठूलो गुरु रेन्पोछेको मूर्तिसहित बुद्धको विशाल मूर्ति तथा विभिन्न बुद्ध आकृति निर्माण गर्ने, घण्टाघर, बच्चासहित बाघको प्रतिमा, शान्ति चैत्य, थान्का लेखन विद्यालय र पार्किङस्थल निर्माण गर्ने योजना रहेको सांसद चौलागाईले जानकारी दिए।

'तेमालमा थान्का शिक्षालय सञ्चालन भएपछि सहर धाउनुपर्ने बाध्यता हट्नेछ। यही बसेर सिक्ने र अरूलाई पनि थान्का लेखन सिकाउनेछन्। थान्कामार्फत तेमाललाई देशी-विदेशीसामु चिनाइनेछ', उनले भने।

इतिहासविद्का अनुसार राजा प्रताप मल्लले वि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरूपमा बगिरहेको धार्मिक मान्यता छ। भारतको प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्तरूपमा सरस्वती नदी मिसिएझैँ पनौतीमा रोशीलाई रुद्रावती, पुण्यमातालाई लीलावती र ब्रह्मायणी मन्दिरमुनिबाट गुप्तरूपमा बग्ने नदीलाई पद्मावती मानिँदै आएको छ।

नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रूपमा परिचित काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, रमणीय तथा पर्यटकीय स्थल हो। तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा शिकार खेल्ने क्रममा भोकले छटपटाइरहेको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काटेर खुवाउँदै देहत्याग गरी बघिनीलाई जीवनदान दिएको किंवदन्ती छ।

नमोबुद्ध क्षेत्रमा लामा तथा महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूला बुद्धमूर्ति र चैत्य छन्। ‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यानले पनि तेमालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्छ।

नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासनका बेला भारतबाट तिब्बत जाने क्रममा गुरु पद्मसम्भवले तेमालमा ध्यान गरी सिद्धता प्राप्त गरेको इतिहास रहेको बताइन्छ। तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई झल्काउने विभिन्न संरचना तथा आकृति पनि निर्माण गरिएका छन्।

प्रतिक्रिया