ओडिसामा नेपाली विद्यार्थी मृत फेला, घट्नाको छानबिको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीलाई घर फर्किन युनिभर्सिटीको सूचना

Jhalkonepal

काठमाण्डाै, माघ ४

भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत एक जना नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।

बुटवलकी २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत भेटिएकी हुन् । मेकानिकल तेस्रो वर्षमा अध्ययनरत भारतीय विद्यार्थी अद्विक श्रीवास्तवको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पतालमा राखिएको छ । यस्तै प्रहरीले आरोपी अद्विकलाई पक्राउ गरेको खबरमा उल्लेख छ ।

यसैबीच प्रकृति लम्साललाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि कलेजले सबै नेपाली विद्यार्थीलाई घर फर्कन सूचना जारी गरेको छ । प्रदर्शनका कारण तनावपूर्ण अवस्था बनेपछि कलेजले ५ सय जनाभन्दा धेरै नेपाली विद्यार्थीलाई बलपूर्वक बाहिर निकालेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया