साउनको अन्तिम सोमबार: गोदान र पूर्णपात्र गरी साउने व्रत समापन

Jhalkonepal

काठमाडौं। सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनहरूले साउनको चौथो तथा अन्तिम सोमबार विधिपूर्वक गोदान र पूर्णपात्र गरी साउने व्रत समापन गरेका छन्।

सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, गोकर्णेश्वर, नागेश्वर लगायत देशभरका शिवालयहरूमा गोदान, पूर्णपात्र र शिवजीको विशेष पूजाआराधना गर्ने वर्तालुहरूको घुइँचो लागेको थियो।

यस वर्ष साउन ४, ११, १८ र २५ गते गरी चार वटा सोमबार परेका थिए। साउनभर सुन्दरीजलबाट वाग्मतीको जल ल्याएर पशुपतिनाथमा चढाउने बोलबम काँवरिया भक्तजनको पनि मन्दिरहरूमा बाक्लो उपस्थिति रह्यो।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवको बारका रूपमा पूजाआराधना गर्ने शास्त्रीय मान्यता छ।

लोकव्यवहारमा पाँच वटा सोमबार परेको वर्षदेखि मात्र नयाँ व्रत सुरु गर्नुपर्छ भन्ने भनाइ रहे पनि चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ वर्तालुले व्रत आरम्भ गर्न सक्ने उनले बताए।

व्यवहारमा साउने सोमबार र तिजको हरितालिका व्रत महिलाहरूले मात्र गर्ने गरेको देखिए पनि शास्त्रीय मत अनुसार महिला र पुरुष दुवैले यो व्रत बस्नुपर्ने प्रा. डा. गौतमले बताए।

साउन महिनाभर चोखो खाएर मांस-मदिराबाट टाढा रहने, शिवालयमा जल चढाउने तथा घर-घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा समेत नेपाली समाजमा रहँदै आएको छ।

प्रतिक्रिया