काठमाडौं, माघ १०
नेपाली यू-१९ क्रिकेट टोलीले आज विश्वकपको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।
पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग
५४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ। समूह चरणको
अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ।
न्युजिल्यान्डले अफगानिस्तानलाई १
विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । उता पाकिस्तान आजको खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना
बलियो बनाउन चाहन्छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई
हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।
दक्षिण अफ्रिकामा सुरु भएको १५औँ
संस्करणको यू-१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई
चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
यू-१९ विश्वकपमा नेपालले यसअघि सात
पटक सहभागिता जनाइसकेको छ। यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो।
नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स
(युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो।