विराटनगर, फागुन २७
मोरङमा जंगली हात्तीको आक्रमणबाट सोमबार राति एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएको पत्ता लागेको छ । राति अबेरसम्म घर फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा सोमबार राति ९ बजेतिर शव फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।
‘माछा मार्न भनेर घरबाट हिँडेका लिम्बू मृत फेला परे । प्रारम्भिक अनुसन्धानबाट जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको खुल्यो । घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट मृत्यु भएको पुष्टि हुन्छ । घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । घटनास्थल वरपर हात्ती हिँडेको डोबहरु पनि थिए,’ प्रहरीले बताए । भुइँ र झाडी मडारिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ ।
जंगली हात्तीको आवतजावत बढेकाले हात्तीलाई नचलाउन, नजिस्क्याउन तथा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न र आक्रमणबाट जोगिनलाई सावधानी अपनाउन सबैमा अनुरोध गरिएको प्रहरीले जनाएको छ ।