काठमाडौं। जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ।
जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत निकै चासोका साथ हेरिएको छ। गत वर्षकै भदौ अन्तिममा गरिन लागेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो।
जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा उक्त सम्मेलन गर्नैपर्छ भन्ने जिल्लावासी र घरपझोङ पालिकाका जनप्रतिनिधिको एकै मतका कारण सम्मेलन सम्भव भएको हो। सम्मेलन जलवायु सङ्कटका मुद्दा उठान गर्ने मञ्चमात्रै थिएन, यसले मुस्ताङमा एकैसाथ सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा उतार्यो।
जलवायु परिवर्तनबाट भएको असरसम्बन्धी मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्मै पुर्याउने लक्ष्यसहित गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा ७५३ वटै स्थानीय तहलाई पत्रचार गरेकामा ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सम्मेलनमा उपस्थित भई ऊर्जा प्रदान गरे।
मुलुककै धार्मिक, सामाजिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मुस्ताङ आफैँ पनि सामरिक महत्त्वपूर्ण भूभागका रूपमा रहिआएको छ। सम्मेलनमा आउने पाहुनाको आवास र खानपान व्यवस्थापन निकै चुनौती भए पनि यहाँका होटलद्वारा बिर्सनै नसकिने न्यानो आतित्थ्य प्रदान गरियो।
सम्मेलनमा सहभागी हुने अधिकांशले प्रसिद्ध मुक्तिनाथको दर्शनका साथै मुस्ताङको स्याउ बगैँचा र यहाँको भौगोलिक सुन्दरतामा रम्ने अवसर प्राप्त गरे। सम्मेलन उद्घाटनअघि पालिका भवनबाट स्थानीय रहनसहन, वेशभूषा र सांस्कृतिक चहलपहल झल्कने झाँकीसहितको प्रभातफेरीसहितको र्याली सम्मेलनस्थल कभर्डहल पुगेको थियो।
लगत्तै प्रमुख अतिथि सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै जलवायु चुनौतीको सामाना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। त्यस अवसरमा सम्मेलन सफलताका लागि प्रधानमन्त्री बालेन्द्र शाहले पठाएको शुभकामना सन्देश बाचन गरियो। यसअघि गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुपर्ने कारणबारे सहभागीलाई जानकारी गराएकी थिइन्।
सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीलगायत केही प्रदेश, जिल्ला तह र स्थानीय तहका जनप्रतिनिधिले जलवायुबाट नेपालमा परेको असरबारे आफ्ना अनुभव र अनुभूति सुनाए। उद्घाटन सत्रलगत्तै सुरु भएको प्राविधिक सत्रमा विषयविज्ञका रूपमा सहसचिव हरिप्रसाद शर्मा, प्रा डा विनोद दवाडी, विज्ञ डा कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनले पारेको असरसम्वन्धी विषयगत कार्यपत्र प्रस्तुत गरे।
त्यसपछि भएको समूहगत-सत्र छलफलमा पालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमात्र नभई स्वास्थ्य, सामाजिक र सांस्कृतिक क्षेत्रमा परेको असरबारे गहन विश्लेषण गरे। सम्मेलनको अन्त्यमा आज घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ को साझा घोषणपत्र जारी हुने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।