महोत्तरी,
असार २
हिन्दूधर्मका अनुयायीहरूले आज गङ्गा दशहारा
पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका
निम्ति भगीरथले तपस्या द्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला
क्षेत्रमा यो पर्व मनाइने परम्परा छ । गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व
मनाउँछन् ।
सूर्योदयअघि स्नान गरेर आफु नुहाएको जलाशयलाई
गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास
बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप
यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ ।
जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिली जनविश्वास रहेको जलेश्वर–५ पतैलीका मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
आज बिहानैदेखि
महोत्तरीका रातु, मरहा, अङ्कुशी र
जङ्घासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान
गर्नेको भीड छ ।