- सुनसरी , माघ ८
सुनसरीमा सञ्चालनमा रहेको लागु औषध दुर्व्यसन विरुद्धको अभियानमा स्थानीय पालिकाहरूले एक्यबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय र फ्यान जिल्ला कार्य सम्पादन समिति सुनसरीले इनरुवामा आयोजना गरेको विशेष अन्तर्क्रिया एवं प्रतिबद्धता कार्यक्रममा १२ वटै पालिकाका प्रमुख तथा उपप्रमुखले अब यो अभियान साझा अभियान भएकोले स्थानीय सरकार यसमा प्रतिबद्ध रहेको बताएका हुन । सुनसरीमा लागु औषध दुर्व्यसनको अवस्था भयावह रहेकोले यस्तो अभियान लिएर विद्यार्थी , अभिभावक तथा युवाहरूमाझ पुग्न जरुरी भएकाले यस्तो अभियान निरन्तर हुनुपर्नेमा जोड दिएको लागु औषध दुर्व्यसन विरुद्धको अभियानका संयोजक प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले बताउनु भयो । शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत २०७६ सालबाट सुनसरी जिल्लामा लागू गरिएको दुर्व्यसन विरुद्धको अभियानलाई अझ प्रभावकारी ढंगबाट अगाडि बढाउने विषयमा साझा प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा अवधारणाका परिकल्पनाकार तत्कालीन सुनसरी जिल्ला प्रहरी प्रमुख हाल कोसी प्रदेश प्रहरी तालिम केन्द्र रानीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले अवधारणाबारे प्रकाश पार्दै लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि केवल कार्यक्रमका रूपमा मात्र नलिई कार्यान्वयन, अनुगमन एवं सार्थक सहकार्य, समन्वय एवं साझेदारीका लागि स्थानीय तहले छुट्टै कानुन एवं कार्यविधि बनाइ अगाडि बढाउन सके यो प्रभावकारी हुने बताउनुभयो ।

लागु औषध सम्बन्धी त्रिवर्षीय तथ्याङ्क प्रस्तुत गर्नुहुँदै दुर्व्यसन विरुद्धको अभियान जिल्ला कार्य सम्पादन समितिका संयोजक नवीन कृष्ण भण्डारीले धरान उम महानगरपालिका सुनसरीमा सबैभन्दा बढी जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । १४ देखी ३५ वर्ष उमेर समूहका युवाहरू दुर्व्यसनीमा फसेको कुरा बताउँदै यस भयावह स्थितिबाट गुज्री रहेको सुनसरी जिल्लामा दुर्व्यसनीको अवस्था बढ्दो दरमा रहेको देखिएको कारण सरोकारवाला निकायको पुनः ध्यान जानुपर्ने विषयमा जोड दिँदै सँगसँगै अभियानमा जोडिनुकाे विकल्प नरहेको समेत उहाँले बताउनुभयो । त्यसै गरी कोसी गाउँपालिका उपाध्यक्ष अनिता देवी यादवले कागजमा मात्र सीमित भएर नहुने आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिँदै कोशी गाउँपालिकाका किशोर किशोरी पनि यसको सिकार रहेको भन्दै गाउँपालिका र वडामा कार्यक्रम गर्न प्रतिबद्धता व्यक्त गर्नु भयो, त्यस्तै दुहबी नगरपालिका उप–प्रमुख मेनुका पोख्रेल दुर्व्यसनको अन्त्यको लागि आफू र परिवारबाटै सुरु गर्नुपर्नेमा दुहबी नगरपालिकाले लागु औषध दुर्व्यसनी विरुद्धको सम्बन्धमा बालबालिकासँग विविध कार्यक्रम गर्दै आएकोमा आगामी कार्यक्रमको लागि प्रतिविद्धताका साथ लाग्ने बताउनुभयो । कार्यक्रममा धरान उप–महानगरपालिका उप–प्रमुख आईन्द्र विक्रम बेघाले धरान उप–महानगरपालिका लागु औषध दुर्व्यसनीमा सबै भन्दा उच्च जोखिममा रहेको कुरा व्यक्त गर्दै धरान उप–महानगरपालिकामा नै यस्ता कार्यक्रमहरू गर्नुपर्ने आवश्यक रहेको कुरा व्यक्त गर्दै आगामी कार्यक्रमका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै कार्यक्रममा हरिनगर गाउँपालिका
अध्यक्ष गफार अंसारीले २०७६ सालबाट सुरु भएको यस अभियानमा जोडिएको कुरा स्मरण
गराउँदै लागु औषध नियन्त्रण गर्न खुल्ला सीमा नाकाहरूको कारणले थप
चुनौती रहेको र बजेट व्यवस्थापन सम्बन्धमा हरिनगर
गाउँपालिकाले बजेट विनियोजन गरी विद्यालयमा विविध जनचेतनामूलक कार्यक्रममा सहभागी
गराउने प्रतिबद्धता समेत जनाउनु भयो । त्यसै गरी इनरुवा नगरपालिका प्रमुख केदार
भण्डारीले बोलेर मात्रै यस अभियानको उद्देश्यले सार्थकता नपाउने कुरा राख्दै
कानुन बलियो भएता पनि घर परिवारले आफ्नो छोरा छोरीलाई समय दिन नपाएको कारण
दुर्व्यसनी बढ्न गएको, विद्यालयमा गएर कार्यक्रम गर्नुपर्ने प्रतिबद्धता समेत व्यक्त
गर्नु भयो । कार्यक्रममा सुनसरी जिल्लाका
प्रमुख जिल्ला अधिकारी जय नारायण
आचार्यले जिल्लामा सबै पालिकाहरू एकै स्थानमा भेला भएर मनन गर्ने विषय उठान भएको
जनाउँदै घरबाटै यो अभियान सुरु गर्नुपर्ने,
विद्यालयमा शिक्षक र समाजमा समाजले
नियन्त्रण गर्नुपर्ने, समस्या धेरै भएको ठाउँमा सँगै जाने र चुनौतीहरूलाई
पहिचान गरी सामाजिक पूर्वाधारमा साझेदारी गरी स्थानीय तहले सकारात्मक
सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिँदै आफू यो अभियानमा लागि पर्ने धारण
राख्नुभएको छ । हाल सुनसरीमा यो अभियान चालु छ ।