सुनसरी चैत्र २४
सुनसरीका ५ वटा पालिकामा लागेकाे कर्फ्युबारे
आवश्यक निर्णय गर्न
बिहान साढे १० बजे सर्व दलीय बैठक बस्दै । बैठकपछि अवस्थालाई ध्यानमा राखेर कर्फ्युबारे आवश्यक निर्णय हुने सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी
वेदराज फुयलले बताउनुभयो । अस्ति एसईईको क्रममा हरिनगर
गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई
समूहबीच विवाद शुरु भएको थियो । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले
आग्रह गरेको छ ।
हिजो दिउँसो अशान्त रहेको सुनसरीको हरिनगर
क्षेत्र आज शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालयले हरिनगरसहित ५ वटा पालिकामा
अर्को सूचना नआउँदासम्म हिजो बेलुका कर्फ्यु आदेश जारी गरेपछि अवस्था शान्त बनेको
हो ।
हिजो दिउँसो हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि
प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । सुरक्षाकर्मीले भीड र प्रदर्शनलाई
नियन्त्रणमा लिने क्रममा १९ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका थिए
। घाइते केहीको अहिले पनि स्थानीय अस्पतालमा उपचार भैरहेको र सामान्य घाइते
उपचारपछि फर्किएका सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले
जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकादेखि
पाँचवटा पालिका हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका
र कोशी गाउँपालिकामा लगाएकाे अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ । कर्फ्यु आदेश
भएका क्षेत्रमा भेला,
प्रदर्शन, सभासम्मेलन,
धार्मिक कार्य गर्न रोक लगाइएको छ ।