काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न हुने बताएका छन्। पार्टीको विधान, नेपालको संविधान, प्रचलित कानुन तथा विशेष महाधिवेशनको निर्णयलाई ध्यानमा राख्दै १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नु कांग्रेसको वैधानिक तथा राजनीतिक दायित्व भएको उनको भनाइ छ।
केन्द्रीय कार्यसमितिको पूर्वनिर्णयअनुसार २०८३ मंसिर १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय यथावत् रहेको बताएका छन्। चालिसेले महाधिवेशनलाई केवल निर्वाचन प्रक्रियामा सीमित नगरी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको अवसरका रूपमा अघि बढाउने बताए।
भदौमा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचन प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए। त्यसका लागि केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गर्नेछ। तर केन्द्रीय निर्वाचन भने निर्धारित समयमै सम्पन्न हुने सुनिश्चितता गरिने उनको भनाइ छ।
महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गरी संयोजक तथा सदस्य नियुक्त गर्ने जिम्मेवारीसमेत पार्टीले दिएको चालिसेले बताए। उनका अनुसार १५ औँ महाधिवेशन व्यवस्थापनका लागि मूल व्यवस्थापन समितिसहित विभिन्न समिति गठन गरिएका छन्।
यसैगरी, महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अध्यावधिकलाई प्राथमिकतामा राखेको छ। पार्टीका सम्पूर्ण क्रियाशील सदस्यको डिजिटल अभिलेख व्यवस्थित गर्दै सदस्यता वितरण, नवीकरण, अध्यावधिक तथा अभिलेखीकरणको प्रक्रियालाई सरल, विश्वसनीय र प्रभावकारी बनाउने निर्णय गरिएको बताए।
प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टीको परिचयपत्र उपलब्ध गराउने तथा छुटेका सदस्यलाई निश्चित समय तोकेर पुनः अध्यावधिक गर्ने अवसर दिने निर्णय भएको चालिसेले जानकारी दिए।
सदस्यता व्यवस्थापन समितिले गरेका विभिन्न निर्णयसमेत अनुमोदन गरिएको छ। डिजिटल प्रणालीमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्दै काम अघि बढाउन समितिलाई आवश्यक अख्तियारी प्रदान गरिएको उनले बताए।