सुभेष सिनाल
काठमाण्डौं, फागुन १३
नेपालले दिएको १७३ रनको लक्ष्य २ विकेट गुमाएर ३८ औं ओभरमा पुरा गरेर नेदरलैण्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको छ । लिग २ मा नेदरलैण्ड्सको यो दोस्रो जित हो भने नेपालको तेस्रो पराजय । टस हारेर नेपालले पहिला ब्याटिंग गर्दै नेदरलैण्ड्सलाई १७३ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पुरा गर्ने क्रममा नेदरलैण्ड्सका विक्रम सिंहले नटआउट ५८ रन बनाए । यस्तै सेब्रान्ड इन्गलव्रेचले नटआउट ४६ रन बनाएर टिमलाई लक्ष्य सम्म पुगाए । यस अघि ओपनरद्धय मेक्सवुड र माइकल लेभिटले ६१ रनको साझेदारी गर्दै नेदरलैण्ड्सलाई बलियो स्थितीमा पुगाएका थिए । मेक्सवुडले २८ र लेभिटले ३९ रन बनाए । नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १,१ विकेट लिए ।
यसअघि पहिले ब्याटिंग गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । ओपनर कुशल भुर्तेल बाहेक अन्य कुनै पनि ब्याटरले जमेर रन बनाउन सकेनन् । भुर्तेलले ३६ औं ओभरमा आउट हुनु अघि भुर्तेलले ६६ रन जोडे । आसिफ सेखले १७, अनिल शाह ७, कुशल मल्ल १ ,कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए । नेपाली टोलीका भरपर्दा ब्याटर दिपेन्द्र सिंह ऐरी दुर्भाग्यपूर्ण रनआउट हुन पुगे । १ रन मात्र बनाएर ननस्ट्राइकमा रहदा कुशल भुर्तेलले प्रहार गरेको बल बलर ली दे को खुटटालाई छोएर स्टम्पमा लाग्दा दिपेन्द्र क्रिज बाहिर थिए । दिपेन्द्र पछि मैदानमा आएका भिम सार्की पनि डक आउट भए । आरिफ सेखले ८ औं नम्बरमा २२ रन बनाए भने ९ औं नम्बरमा आएका करण केसीले ४९ औ ओभरको तेस्रो बलमा आउट हुनु अघि २७ बलको सामना गर्दै २ छक्काको मद्दतमा २६ रन जोडे ।
यो संगै लिग २ को पहिलो सिरिज सकिएको छ । नामिविया ३ जितका साथ ६ अंक हासिल गरि सिरिज विजेता भएको छ । पहिलो लिग सकिदा, नामिविया ६, नेदरलैण्ड्स ४ र नेपालले २ अंक जोडेका छन । लिग २ को दोस्रो सिरिज केही दिनमा युएईमा शुरुहुदैछ । दोस्रो सिरिजमा युएई, क्यानडा र स्कटलैण्डले प्रतिस्पर्धा गर्नेछन ।
नेपाल भ्रमणमा रहेको नेदरलैण्ड्सले यसपछि नेपालसंग टि२० सिरिज खेल्नेछ । विश्वकप २०२४ को तयारीको रुपमा दुबै देशले सिरिज खेल्न लागेका हुन ।