सुभेष सिनाल
काठमाण्डौं, फागुन १९
नेपालले नेदरलैण्ड्सलाई ६ विकेटले पराजित गरि प्रतियोगितामा पुनरागमन गरेको छ । नेदरलैण्ड्सले दिएको १२१ रनको लक्ष्यलाई २८ बल अगाडी नै ४ विकेट गुमाएर पुरा गरि नेपालले रनरेटमा पनि उल्लेख्य सुधार गरेको छ । १२१ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान गरे । रोहितलाई गुलशन झाले ३८ रन बनाएर साथ दिएका थिए । यसअघि ओपनर कुशल भुर्तेल ८ बलमा १२ रन तथा आसिफ सेख ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेपालका लागि विजयी रन भने कुशल मल्लले लिए ।
नेदरलैण्ड्सका तर्फबाट भिभियन किंग्माले ३ विकेट लिए भने आर्यन दत्तलाई १ विकेटको सफलता प्राप्त भयो । यसअघि नेपालले उत्कृष्ट बलिंग गर्दै नेदरलैण्ड्सलाई १२० रनमा अल आउट गरेको थियो । नेपालका बलर प्रतिस जिसीले ३ विकेट लिए भने करण केसी र कुशल मल्लले २,२ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए भने २ ब्याटर रन आउट भएका थिए । नेदरलैण्ड्सका मैक्स वुडले सबैभन्दा वढि ३१ रन बनाए । यस्तै टिम भेन्डरगुटेनले २४ रोयल्फ भेन्डरमाफ्रेले २३ र स्कट इडवार्डले १८ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् ।
४ ओभरमा १३ रन मात्र खर्चेर ३ विकेट लिएका प्रतिस जिसी म्यान अफ दी म्याच घोषित भएका छन ।
पहिलो २ खेलमा पराजित भएर समर्थकहरु निरास बनेको अवस्थामा हिजो नामिवियालाई र आज नेदरलैण्ड्सलाई पराजित गरेको नेपालले समर्थकहरुलाई खुशी बनाएको छ ।
जित संगै नेपालको पनि ४ खेलमा ४ अंक र ०.२९ रनरेट सहित नेदरलैण्ड्स भन्दा पछि पर्र्दै भएकोले दोस्रो स्थानमा छ । नेदरलैण्ड्सको ३ खेलमा २ जितका साथ ४ अंक र ०.३१ रनरेट भएको पहिलो स्थानमा छ । नामिवियाले ३ खेलमा १ मा जितका साथ २ अंक सहित तेस्रो स्थानमा छ । भोली नामिवियाल र नेदरलैण्डसका विच अन्तिम खेल हुनेछ । भोली नामिवियाले जितेको खण्डमा तिनै टोलीको समान ४ अंक हुनेछ र फाइनल खेल्ने टोलीको टुंगो रनरेटले लगाउनेछ । भोलीको खेलमा नेदरलैण्ड्सले जितेमा भने मंगलबार हुने फाइनलमा नेपाल र नेदरलैण्डसका विच प्रतिस्पर्धा हुनेछ ।