काठमाडौं, असार ३१
मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले हराएको हो ।
भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मीनाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोल गरे । पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र थप्यो ।
खेलको आठौं मिनेटमा मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले नेपालको अग्रता दोब्बर पारिन् ।
४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रतामा पुर्याइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै अग्रता अझ फराकिलो बनाइन् ।
नेपालले छैटौं गोल गर्न भने ७० मिनेटसम्म कुर्नुपर्यो । ७०औं मिनेटमा मीनाले गोल गर्दै ह्याट्रिक पनि पूरा गरिन् र नेपाल ६-० ले अघि बढ्यो । इन्जुरी समयमा सरिता कुमारीले फ्रिकिकमा गोल गर्दै नेपाललाई ७-० को अवस्थामा पुर्याइन् ।