काठमाडौँ, असोज २८
हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ ।
दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक परम्परा छ ।
भगवती दुर्गाले दैत्यमाथि तथा रामले रावणमाथि विजय गरेको उत्सवका रुपमा नवदुर्गाको पूजा गरिँदै आइएको दसैँ घरका पूजारी सागर खरेलले बताउनुभयो । जमरा छरेपछि व्यक्तिमा सुख, शान्ति प्राप्त हुने तथा रोगव्याधी भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको उहाँको भनाइ थियो ।
राष्ट्रको कल्याण होस् जनता सुख, शान्ति र समृद्धिमा रहुन्, उन्नति प्रगति हुँदै जाओस् भन्ने हेतुले जमरा राखिएको पूजारी खरेलले बताउनुभयो । हनुमानढोकास्थित दसैँघरमा जमरा राखेपछि सर्वसाधारणले पनि घरघरमा घटस्थापना गर्ने परम्परा छ ।
बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित चण्डी(सप्तशती) पाठ गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नजिकैको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक माटो राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
२७ असोज २०८०, आईतबार ०३:१३ मा प्रकाशित