कर्णाली, मङ्सिर ६
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड सेवा सुचारू गरेकाे छ । प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको हाे । वीरेन्द्रनगर,सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो ।
“विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो”, यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए नभएको विवरण उजुरीकर्तालाई दिने उहाँले बताउनुभयो ।
‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत दुई लाख २७ हजार चार सय २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तरक्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुर्व्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । “अब कर्णाली प्रदेशका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधि मार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न , उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन । उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उहाँको भनाइ थियो ।
त्यसैगरी क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो । अति जरुरी उजुरीलाई तत्काल, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानबिन गरी उजुरीकर्तालाई विवरणसहितको जानकारी दिइने बताइएको छ ।
क्यूआर कोडको प्रयोगले नागरिक सँगको सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा पाउने दुःख पूर्ण रूपले हट्ने जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अन्तरक्रियात्मक गस्तीबाट सात हजार दुई सय ६२, यात्रुमैत्री अभियानबाट दुई लाख र निःशुल्क निवेदन लेखन सहयोग कार्यक्रमबाट एक हजार पाँच सय ६५ जना लाभान्वित भएका छन् ।
५ मङ्सिर २०८०, बुधबार ०८:०१ मा प्रकाशित