लमजुङ, असार ६
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भिरमा ठूलो
ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
। उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक
थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि
सडक अवरुद्ध भएको हो ।
सोही बाटोमा पर्ने अक्टोपस झरनामा
पानी बढेपछि आवागमन रोकिएको छ । हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले
अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै
हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा
आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।
६ असार २०८१, बिहिबार ०७:४० मा प्रकाशित