इटहरी , असोज ८
इटहरी । इटहरी उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा थारु विद्यार्थीहरूलाई बेवास्ता गरेको भन्दै थारु सामाजिक संस्थाहरूले विरोध जनाएका छन् ।
थारु समुदायका छोराछोरीलाई छात्रवृत्तिमा प्राथमिकता नदिएको उनीहरूको आरोप छ ।
थारुलाई इटहरीको पहिलो जाति घोषणा गर्ने तर सेवा सुविधा प्रदान गर्दा पक्षपात गरी अवसरबाट वञ्चित गरिएको भन्दै थारुसँग सम्बन्धित विभिन्न संस्थाहरूले विरोध जनाएका हुन ।
थारु विद्यार्थी समाज सुनसरी, थारु कल्याणकारी सभा इटहरी,थारु महिला सभा सुनसरी,थारु महिला सभा इटहरी र थारु कला केन्द्र विराटनगरले संयुक्त रूपमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
मेयर पौडेललाई ज्ञापन पत्र बुझाउँदै थारु अगुवाहरूले उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा जनसङ्ख्याको आधारमा थारु समुदायका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन माग गरेका छन् ।