काठमाण्डाै, कार्तिक २८
युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्व
कपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित
हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो ।
युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर
पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्व कपमा
नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा
कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले
९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित
२० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट
हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।
युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा
रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन
जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा
७ विकेट गुमायो ।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले
समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन
खर्चेर उत्कृष्ट बलिङ गरिन् ।
यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २
फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र
स्कटल्याण्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा
बंगलादेशविरुद्ध रहेको छ ।
२७ कार्तिक २०८१, बुधबार ०६:०१ मा प्रकाशित